चितवन । पूर्वी चितवनको युवा स्वर्ण तारा क्लव खैरहनी–६, पर्साको आयोजनामा जिल्ला स्तरीय स्वर्ण कप फुटबल प्रतियोगिता २०७८ हुने भएको छ । यही असोज ९ गतेबाट हुने सो प्रतियोगिताको फाइनल खेल असोज २२ गते हुने आयोजकले जनाएका छन् ।

स्थानीय समाजसेवी स्व. डिल्लीराम अधिकारीको स्मृतिमा हुन लागेको सो प्रतियोगितामा १४ टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ हजार रूपैया, ट्रफी र प्रमाणपत्र तथा द्वितीय हुने टिमले ३५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट खेलाडीले ५ हजार नगद, ट्रफी र प्रमाणपत्र तथा म्यान अफ दि म्याच खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

खैरहनी मा.वि.को प्राङ्गणमा हुने प्रतियोगिता हेर्न दर्शकको लागि रू. ३० को टिकटको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । क्लवद्वारा आयोजित पत्रकार सम्मेलन क्लवका अध्यक्ष एवम् मूल समारोह समितिका संयोजक मनोज कुमार खड्गीको अध्यक्षतामा भएको थियो ।

सो कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी छन्नुराम चौधरी, नेशनल भेट्रान टिमका कोषाध्यक्ष लेखनाथ घिमिरे, पूर्व खेलाडी चक्र पुन, भेट्रान टिमका सदस्य रक्की खरेल, क्लवका सचिव सागर अधिकारी, स्व. डिल्लीराम अधिकारीका छोरा युलिड अधिकारी, छोरी युलिका अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !