काठमाडौं । नेपाली कांग्रेसका वडा अधिवेशन हुन नसकेका जिल्लाहरूमा आज अधिवेशन हुने भएको छ ।

मंगलबार काठमाडौंसहितका जिल्लाहरूमा वडा अधिवेशन सम्पन्न हुनेछ । डोल्पा, धनुषासहितका केही जिल्लाको विवाद मिल्न नसकेका कारण मंगलबार ती जिल्लाहरूमा वडा अधिवेशन हुनेछैन ।

डोल्पा, बाँक, बारा, सप्तरी, धनुषा, रौतहट, रसुवा, सर्लाहीलगायतका जिल्लामा विवाद समाधान भएको छैन ।

वडा अधिवेशन सम्पन्न भएपछि नगरपालिका र गाउँपालिकाको अधिवेशन हुनेछ ।

कांग्रेसले ५७ जिल्लामा वडा अधिवेशनहरू गरिसकेको छ । अधिकांश वडाहरूमा अधिवेशन सर्वसम्मत सम्पन्न भएका छन् ।

काठमाडौं र मोरङ जिल्लाका वडा अधिवेशनलाई अलिक धेरै चासोका रुपमा हेरिएको छ । यी दुई जिल्लामा क्रियाशील सदस्यहरू धेरै छन् ।

कपिलवस्तु, सिन्धुपाल्चोक, काभ्रे, बाजुरा र बर्दियामा पनि मंगलबार वडा अधिवेशनहरू हुनेछ ।

काठमाडौंको वडा अधिवेशनमा प्रकाशमान सिंह, सह–महामन्त्री डा.प्रकाशशरण महत, भीमसेनदास प्रधान, गगन थापासहितका नेताहरू जोडिएका छन् ।

मोरङमा महामन्त्री डा.शशांक कोइराला, सुजाता कोइराला, डा.मीनेन्द्र रिजाल, डा.शेखर कोइराला, डा.सुनिल शर्माको गृहजिल्ला पर्छ । मोरङमा कोइराला परिवारको विरासत रहे पनि पछिल्लो समय पारिवारिक विरासत भत्किदै गएको छ ।

प्रतिक्रिया दिनुहोस !