शिशिर सिंखडा, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने दशौँ विश्व सम्मेलनमा हङ्गकङ्ग निवासी समाजसेवी यम कुमार (त्रिलोक) गुरूङ्गले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

सन् २०२१–२३ का लागि उहाँले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । एनआरएनए हङ्गकङ्गको सन् २००६ देखि २०११ सम्म अध्यक्ष रहनु भएका गुरूङ्गले संघको विभिन्न भूमिकामा रही काम गरी सक्नुभएको छ । सन् २०११–१३ मा एसिया प्यासिफिक क्षेत्रीय संयोजक तथा सन् २०१३–२१ सम्म सल्लाहकार रही कार्य समेत गर्नुभएको थियो ।

“एकपटकको नेपाली सधैँको नेपाली” भन्ने नाराका साथ नेपाली र गैरआवासीय नेपालीको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आउनुभएका गुरूङ्गले नेपालका विभिन्न सामाजिक क्षेत्रमा सहयोगहरू गर्दै आउनुभएको छ । विश्वभरका हरेक नेपालीको सुख दुःखको सारथीका रूपमा परिचित गुरूङ्गले एनआरएनएमा आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

एनआरएनए र नेपाली नागरिकताका सवाल, महिला सशक्तिकरण, युवा नेतृत्व, नेपालमा लगानी मैत्री वातावरण तथा भू.पू. गोर्खा सैनिकको आवाजलाई बुलन्द पार्दै उहाँले आफ्नो भूमिकालाई उँचो बनाउनुभएको छ । आफूले नेपाल, नेपाली, एनआरएनए आन्दोलन र विश्वभर रहेका नेपालीको हितका लागि उम्मेदवारी दिएको बताउनुभयो । उपाध्यक्ष पदमा अत्याधिक मतका साथ विजयी गराउन विश्वभरका नेपाली समुदायको आफूलाई साथ रहेको समेत गुरूङ्गले कालिका दैनिक अनलाइनलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !