काठमाडाैँ । नेकपा (एमाले) ले पार्टीका सबै पदाधिकारी निर्वाचित गर्ने भएको छ । यसअघि अध्यक्ष बाहेकका पदाधिकारी केन्द्रीय कमिटीबाट मनोनयन गर्ने व्यवस्था सहितको प्रस्ताव ल्याइएको थियो ।
प्रचार विभाग प्रमुख योगेश भट्टराईले विधान महाधिवशेनमा पेश गर्ने प्रतिवेदनबारे छलफल गर्न चलेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै पछिल्लो पटक आएको विधान संसोधन सम्बन्धी प्रस्ताव मुलतः नवौं महाधिवेशनकै निरन्तरता भएको बताए ।
‘नवौं राष्ट्रिय माहाधिवेशनकै निरन्तरता छ,’ उनले भने, ‘संघीयता अनुसारको विधान पनि आएको छ । अहिले सबै पदाधिकारी हलबाट निर्वाचित हुने भन्ने प्रस्ताव राखेका छौं ।’
भट्टराईले उपाध्यक्ष तीन जना मात्रै रहेन व्यवस्था नयाँ प्रतिवेदनमा गरिएको जानकारी दिए । यसअघि ७ जना उपाध्यक्ष रहने प्रस्ताव गरिएको थियो ।
यस्तै बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने ३ वटा दस्तावेजमा छलफल भएको भट्टराईले जानकारी दिए । बैठकमा विधान संशोधन, संगठन र राजनीतिक प्रतिवेदनमाथिको प्रस्तावमा लिखित र मौखिक सुझाव आएको र त्यसलाई समेटेर ३ वटै दस्तावेज केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने निर्णय भएको भट्टराईले जानकारी दिए ।
एमालेले असोज ८ र ९ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । ‘स्थायी कमिटीमा आएका सुझाव सहितको दस्तावेज केन्द्रीय कमिटी बैठकमा पेश हुन्छ । त्यहाँबाट पनि आएका सुझावलाई समेटेर ती दस्तावेज विधान महाधिवेशनमा प्रस्तुत हुन्छन्,’ भट्टराईले भने ।