महोत्तरी । असोज पूर्णिमाका दिन अगस्त्यसहित ऋषिगण तथा देवगणलाई तर्पण दिँदै हिन्दू परम्पराका मैथिलले पितृपक्ष प्रारम्भ गरेका छन् । असोज कृष्णपक्षदेखि पितृपक्ष प्रारम्भ भए पनि मिथिलामा पूर्णिमाकै दिनदेखि पवित्र जलाशयमा तर्पण दिने परम्परा अनुसार यहाँका पवित्र जलाशयमा यसैअनुसार आज पूर्णिमाका दिनदेखि पितृपक्ष सुरु भएको हो ।

“दिवङ्गत पितृलाई तर्पण दिनुअघि ऋषिमुनिको स्मरण गर्ने हिन्दू मैथिल परम्परा छ”, बर्दिबास–२ का पुरोहित महेशकुमार झा भन्नुहुन्छ, “यसैअनुसार पहिलो तर्पण अगस्त्य ऋषिलाई दिइने र मङ्गलबारदेखि पितृ तर्पण थालिने छ ।” अगस्त्य ऋषि र दिती, अदितिसहितका उहाँका पत्नी ब्रह्माको आदेशले सृष्टि प्रारम्भ गर्ने आदिमानव मानिएका उहाँको भनाइ छ ।

असोज कृष्णपक्षलाई पितृपक्ष (मैथिली बोलचालमा पितरपक्ष) वा सो¥हश्राद्ध भनिने गरिएको छ । यो अवधिमा पितृ (दिवङ्गत आफन्त) स्वर्गबाट पृथ्वीमा ओर्लने विश्वास गरिन्छ । पृथ्वी आएका पितृले आफ्ना सन्तानले दिएको तर्पण र पिण्ड सोझै ग्रहण गर्ने विश्वासमा यो अवधिभर तर्पण र श्राद्ध गरी पिण्ड दिने परम्परा छ ।

पितृपक्ष प्रारम्भको एक दिनअघि आज पूर्णिमाकै दिन जिल्लाका धार्मिक महत्वका जलाशयमा तर्पण र तीर्थश्राद्ध गर्नेको भीड बढेको छ । जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर, मटिहानीस्थित लक्ष्मीनारायणस्थान, जलेश्वरकै पुरन्दर, बरुण र भार्गव सर (तलाउ), बलवा नगरपालिकाको ध्रुवकुण्ड र भङ्गाहा नगरपालिकाको सिद्धनाथ महादेवस्थानमा श्रद्धालुको जमघटले भरिभराउ भएकोे छ ।

यसैगरी बर्दिवास नगरपालिका–५ को टुटेश्वरनाथ महादेव मन्दिरसँगैको मरहा नदी तट, बर्दिवास–३ को राइमण्डल धार्मिक क्षेत्र र रातु, मरहा एवं ओक्सीलगायत नदीतटमा तर्पण दिने यजमान(श्राद्ध गर्ने कर्ता)लाई सङ्कल्प गराउन पुरोहित (कर्मकाण्डी ब्राह्मण) को पनि व्यस्तता बढेको छ । कर्तापिच्छे गोत्र, नाउँ र पितृको फरकफरक सङ्कल्प पढ्नुपर्ने भएकाले पुरोहितलाई भ्याइनभ्याइ भएको हो । यो क्रम असोज आमावश्या (औँशी) सम्म रहनेछ ।

पितृपक्षका बेला तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ (दिवङ्गत परिवारजन) तृप्त हुन्छन् भन्ने विश्वासले हिन्दू धर्मावलम्बी आजदेखि तीर्थस्थलमा श्राद्ध गर्न पुगेका हुन् । यो पक्षमा पितृपक्ष (पितातर्फ) र मातृपक्ष (मावलीपक्ष) सँगै गुरु, दिवङ्गत राष्ट्रप्रमुख र नजिकका अन्य दिवङ्गत नातेदारलाई तर्पण र पिण्ड दिने चलन छ ।

मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथिका श्राद्ध गरिने भएकाले यसलाई ‘सोलहसराद’ (सोह्रश्राद्ध) पनि भन्ने गरिन्छ । पूर्णिमा तिथिको पार्वण श्राद्ध पनि औँशीमै गरिने हुँदा पक्ष १५ दिनकै भए पनि श्राद्ध चाहिँ १६ तिथिका हुने भएकाले यो पक्षलाई ‘सोलहसराद’ भन्ने गरिएको मैथिल कर्मकाण्डका ज्ञाता बताउँछन् ।

यो पक्षमा पार्वण र एकोपार्वण श्राद्ध गरिन्छ । यो पक्ष बाहेक अन्य तिथिमा दिवङ्गत भएर वार्षिक (बरखी, निधन भएको एक वर्षको तिथिमा गरिने पितृकर्म) गरिएका पितृलाई तर्पण, पिण्ड दिइने श्राद्धलाई पार्वण र यसैपक्षमा दिवङ्गत भएका पितृको गरिने श्राद्धलाई एकोपार्वन भनिने भङ्गाहा–५ का पुरोहित विष्णुप्रसाद शर्मा बताउनुहुन्छ । यी श्राद्ध तीर्थस्थल वा घरमै पनि गरिने चलन छ । यो पक्षबाहेक अन्य समयमा दिवङ्गत पितृको तिथिमा गरिने श्राद्धलाई भने एकोदिष्ट भनिन्छ, त्यसमा उनै दिवङ्गतलाई मात्र एउटा पिण्ड दिइन्छ ।

दशैँ, तिहार र छठजस्ता महान् चाडबाडअघि पितृको स्मरण गर्नाले पारिवारिक बिघ्न नपर्ने र पितृ तृप्त हुने विश्वास छ । यी पर्वबाहेक घरमा आयोजना गरिने अन्य माङ्गलिक कार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादीसहित शुभकार्य)अघि पनि पितृलाई तृप्त गराउन नानीमुखी श्राद्ध र सप्तमातृकाको पूजा गर्ने वैदिक परम्परा रहेको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।

वर्षका अन्यबेला गरिने गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि) अघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्बिघ्न सम्पन्न होस् भन्ने गरिने कामना जस्तै दशैँ, तिहार र छठपर्वको मुखमा पितृलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको हुनसक्ने सोहै विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलको भनाइ छ ।
हिन्दू परम्पराअनुसार पितृपक्षभर मत्र्यलोक आएका पितृले आफ्ना सन्तानले दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !