शिशिर सिंखडा, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने दशौँ विश्व सम्मेलनमा हङ्गकङ्ग निवासी समाजसेवी राधिका गुरूङ्ग (टिका) ले महिला सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

“रूपान्तरणको लागि प्रविधि, पारदर्शीता र समावेशी एकता समृद्धिको लागि ज्ञान, सीप र लगानीको प्रतिवद्धता” भन्ने मूल नाराका साथ हुने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् सन् २०२१–२३ को विश्व सम्मेलनमा गुरूङ्गले महिला सचिवमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

एनआरएनए हङ्गकङ्गको दुई कार्यकालसम्म अध्यक्ष पदमा रहेर कुशलतापूर्वक काम समेत उहाँले गरी सक्नुभएको छ । लामो समयदेखि हङ्गकङ्गमा बस्दै आउनुभएको एनआरएनए हङ्गकङ्गकी निवर्तमान अध्यक्ष तथा सल्लाहकार राधिका गुरूङ्ग (टिका) ले नेपालका विभिन्न सामाजिक क्षेत्रहरूमा सहयोगहरू समेत गर्दै आउनुभएको छ ।

विगत लामो समयदेखि आफू एनआरएनए आन्दोलनमा होमिएको बताउँदै गुरूङ्गले सम्पूर्ण एनआरएनए र नेपाली समुदायको हितको निम्ति सदैव लाग्ने प्रतिवद्धताका साथ आफूले महिला सचिव पदमा उम्मेदवारी दिएको कालिका दैनिक अनलाइनलाई   बताउनुभयो । साथै महिला सचिव पदमा सम्पूर्ण नेपालीहरूको सहयोगले विजयी हुनेमा समेत आफू विश्वस्त रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !