पोखरा । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरु एमालेमै फर्किनै पर्ने ठोकुवा गर्नुभएको छ । प्रेस चौतारी कास्कीले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै भट्टराइले अहिले पनि विभाजनमा लागेकाहरुको मनमा एमाले नै रहेकोले मुल पार्टीमा फर्किने बताउनु भयो ।

‘जो विभाजन लाग्नुभयो, उहाँहरुमा टिप्पणी छैन । धेरै नेता कार्यकर्ताको मनमा एमाले नै छ । अब माधव कमरेडले सपना देख्दा पनि एमाले नै देख्नुहुन्छ । उहाँलाई होमसिक जस्तै एमालेसिक हुन्छ । उहाँ यतै आउनुहुन्छ,’ भट्टराईले भन्नुभयो, ‘उहाँ एमालेमा फर्किनुको विकल्प छैन । असफल प्रयत्नतिर नजाऔं । त्यसले कुनै शक्ति आर्जन गर्न सक्दैन, कम्युनिस्ट आन्दोलनलाई विभाजन गर्नेबाहेक कुनै काम छैन ।’

पार्टी पंक्ति र नेताहरुको सुझबुझका कारण विभाजनको असर खासै नपरेको उहाँले सुनाए । ‘जे कोसिस गर्‍यौं । यसले विभाजनको असर निकै कम भयो । जति तल गयो, विभाजनको असर उति कम भयो,’ भट्टराईले भन्नुभयो, ‘पार्टी विभाजन गर्नु हुन्न भन्ने एकताको पक्षधर साथीहरु एकजुट हुनुभयो । अझै अत्यन्त मेहनत गर्छौं । जहाँ घाटा लागेको छ, त्यसको पूर्ति गर्नुपर्छ ।’

कांग्रेस र माओवादीका कार्यकर्ता तानेर एमालेको क्षति पूर्ण गर्ने उहाँको भनाइ छ । ‘माओवादीका तल्लो तह निराश छन् । हामीले उनीहरुलाई एमालेमा आउन अपिल गरौं,’ सचिव भट्टराईले भन्नुभयो, ‘कांग्रेसका साथीहरुलाई पनि भनौं । हिजो भोट नहालेकाहरुलाई पनि एमालेमा आकर्षित गरौं ।’

भट्टराईले कांग्रेसले देशलाई विकल्प दिन नसक्ने भन्दै एमालेले बहुमत ल्याउने ठोकुवा पनि गर्नुभयो । ‘आगामी चुनावमा पनि कांग्रेसले बहुमत ल्याउन सक्दैन । किनकी उसले कुनै विकल्प दिन सक्दैन,’ भट्टराईले भन्नुभयो, ‘बहुमत ल्याउन सक्ने तागत एमालेसँग छ । राजनीतिक स्थायित्व र विकासका लागि एमालेको बहुमत अनिवार्य छ ।’ विभाजनमा लागेका नेता कार्यकर्ताहरुलाई मुल घरमै फर्किन पनि उहाँले आग्रह गर्नुभयो ।

भट्टराईले सरकारका कारण बजेट होल्ड भएको र यसले आर्थिक तथा वित्तीय अनुशासन ध्वस्त भएको पनि बताउनु भयो । २ महिना वितिसक्दा समेत सरकारलाई पूर्णता दिन नसक्नु अहिलेको गठबन्धनको असक्षम कदम भएको भट्टराईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !