काठमाडौँ । सदनको गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल सहभागी छन् । राप्रपाका लिङ्देन उपत्यका बाहिर रहेकाले उपस्थित हुन नसकेको संसद सचिवालयले जनाएको छ ।

सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष एमालेले भने बहिष्कार गरेको छ । एमालेले उठाएका प्रश्नको जवाफ ननिस्किने भएकाले नजाने निर्णय भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

एमालेबाट निर्वाचित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेको माग छ । पार्टीले कारबाही गर्दा पनि पदमुक्तिको सूचना जारी नगरिएको भन्दै एमालेले संसद् अवरुद्ध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !