काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले पार्टीको विधान अधिवेशन आगामी आसोजको दोस्रो साता आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आज भएको बैठकले विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले राससलाई जानकारी दिनुभयो । यसअघि अधिवेशन असोज ४ देखि ६ गतेभित्र आयोजना गर्ने निर्णय भएको थियो ।

दस्तावेज तयारीका निम्ति पर्याप्त समय नएकाले विधान अधिवेशनको मिति सारिएको जानकारी दिँदै त्यससम्बन्धमा थप छलफल गर्न स्थायी कमिटीको बैठक असोज ३ र ४ गते डाकिएको उहाँले बताउनुभयो । अबको स्थायी कमिटी बैठकमा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदन प्रस्तुत हुनेछ भने स्थायी कमिटीको बैठकबाट उक्त प्रस्ताव पारित भएपछि असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने उहाँले जानकारी दिनुभयो ।

बैठकले अधिवेशनका लागि तीन हजार प्रतिनिधि हुने निर्णय गरेको छ । अघिल्लो अधिवेशनमा प्रतिनिधि परिषद् सदस्य र महाधिवेशन प्रतिनिधि स्वतः प्रतिनिधि हुने गरेका थिए तर यसपटक पार्टीको नवाँै महाविधेशनपछि परिषद् निर्वाचित नगरेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि बाधा अड्काउ फुकाउको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !