
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।
संसद्बाट एमसीसी पास गर्ने विषय र एमसीसीकै उपाध्यक्ष फतिमा सुमारलगायतको नेपाल भ्रमणले राजनीति तातेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र संसद् सञ्चालनका विषयमा छलफल गर्न पाँचदलीय गठबन्धनको बैठक बोलाएका हुन् ।
केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
बैठकमा कांग्रेसबाट सभापति एवम् प्रधानमन्त्री देउवा, महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन् ।
बैठकमा सरकारका मन्त्रीहरूसमेत सहभागी छन् । गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।