काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमारबीच भेटवार्ता सकिएको छ। ओलीलाई भेट्न बिहीबार दिउँसो दुई बजे बालकोटस्थित निवासमा सुमारसहितको प्रतिनिधिमण्डल पुगेको थियो।

सुमारसहितको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा अध्यक्ष ओली, स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापा सहभागी थिए।

दुई प्रतिनिधिमण्डलबीच एमसीसीको विषयमा छलफल भएको हो। बालकोट स्रोतका अनुसार भेटमा एमालेले पार्टीमा छलफल गरेपछि एमसीसीको विषयलाई टुंगो लगाउने बताएको छ। सुमारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अमेरिकी सैन्य गठबन्धनबीच सम्बन्ध नरहेको जानकारी गराइन्। उनले कुनै पनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट निषेध गरेको बताइन्। एमसीसीको टोली बालकोटबाट फर्किएको छ।

संसद्मबाट एमसीसी पास गर्ने वा नगर्ने बहस चलिरहेको बेला उपाध्यक्ष सुमारसहितको टोली नेपाल आएर प्रमुख प्रतिपक्ष दलसँग भेट गरेको हो। चारदिने भ्रमणमा नेपाल आएकी सुमारले शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ।

उनले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भटटराई, अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यसूची छ। प्रधानमन्त्री देउवालाई सुमारले शुक्रबार अपरान्ह भेट गर्ने कार्यतालिका तय भएको सचिवालय स्रोतले जनाएको छ।

उनी बिहीबार बिहान कतार एयरको जहाजबाट त्रिभुवन विमानस्थल आइपुगेकी हुन्।

प्रतिक्रिया दिनुहोस !