दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका १ बास्पालीमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।

बास्पाली (भालुखोला) स्थित बस्दै आएका ६५ वर्षीय नर सिंह महर र उनकी ६० वर्षीय श्रीमती कौशिला महर पहिरोमा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ । हिजो राती सुतिरहेको अवस्थामा घर माथिबाट खसेको पहिरोले घरसहित उनीहरूलाई पुरेको स्थानीयहरूले जानकारी दिए । अहिले घटना स्थलमा प्रहरीको टोली पुगेर उद्धार गरिरहेको छ ।

यसैबीच गएराती महाकाली नगरपालिका वडा नम्बर १ को निजाङ्ग खोलामा आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरू बगाएको छ । महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका वडा नम्बर ३ को सिमाना भएर बग्ने खोलामा आएको बाढीले श्रीबगड स्थित खोला किनारका थप ३ पसल र १ घर बगाएको स्थानीय रेन्जपोष्टमा कार्यरत विनोद सिंह धामीले जानकारी दिनुभयो । खोलाले स्थानीय दिपक बहादुर बमको घर तथा सुन्दर बहादुर बम, देवबहादुर बम र जितबहादुर बमको पसल बगाएको उहाँले बताउनुभयो ।

खोलामा आएको बाढीले घर बगाएपछि उक्त घरका नागरिक राती नै सुरक्षित स्थानमा सारिएको उहाँको भनाई छ । साथै श्रीबगडका अन्य घरहरू समेत बाढी पहिरोको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो ।यसैबीच लगातार भइरहेको वर्षाले महाकाली नदीमा पानीको बहाव बढेर भारततर्फको तपोवन क्षेत्रमा रहेको एनएचपिसी डुबानमा परेको छ ।

निजाङ्ग खोलामा आएको बाढीले केही बेर महाकाली थुनिएपछि एनएचपिसी डुबानमा परेको भारतीय सुरक्षा स्रोतले जनाएको छ । एनएचपिसी डुबानमा परेपछि केही कर्मचारी भित्रै फसेको तथा उनीहरूको सकुशल उद्धार गरेको बुझिएको छ । बाढीले पु¥याएको क्षति र स्थानीयको अवस्था बारे बुझ्न अहिले त्यहाँ प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !