चरिकोट । मेलुङ गाउँपालिका दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठलाई दिन दहाडै हातपात गरिएको प्रति सर्वत्र निन्दा र भत्सना गरिएको छ । गाउँपालिकाको नियमित कामका लागि भाद्र १२ गते बिहान चरिकोटबाट गाउँपालिका जादै गर्दा मुकुने भन्ने स्थानमा अध्यक्ष श्रेष्ठलाई दुर्ब्यबहार गरिएको हो । निरन्तर परेको बर्षातले कच्ची बाटोमा गाडी फसेको भन्दै आवेसमा आई स्थानीय मानबहादुर तामाङले हातपात गरेका हुन ।
मानबहादुर हातपात गर्न तम्सिएर आएपछि अध्यक्ष श्रेष्ठले संयमित हुदै उसलाई सम्झाउनु भएको थियो । स्थिति सामान्य बनाएर श्रेष्ठ गाउँ पालिका तर्फ लागेपछि घटनालाई अतिरञ्जीत गर्दै सामाजिक सञ्जालमा भाइरल बनाइएको प्रति अध्यक्ष श्रेष्ठको गुनासो रहेको छ । सीमित स्रोत र साधनले सञ्चालन भैरहेका गाउँपालिका र काम गर्नुपर्ने क्षेत्र धेरै रहेको अवस्थामा जनताका गुनासाआउनु स्वभाविक भएको तर भौतिक रुपमा जन प्रतिनिधिलाई आक्रमण गरिनु अमानवीय र आपराधिक कार्य भएको नेकपा एमाले दोलखाले जनाएको छ ।
एमाले दोलखाले विज्ञप्ति जारी गर्दै अविरल बर्षाले राजमार्गहरु नै अस्तब्यस्त भएको अवस्थामा ग्रामीण सडक हरुमा समस्या देखिनु स्वभाविक भएकाले जन प्रतिनिधिलाई तेजोबध गर्ने यस्ता खालका गतिविधि सह्य नहुने भन्दै दोषीलाई तत्कालै कारवाही गर्न स्थानीय प्रशासनलाई माग गरेको छ । त्यस्तै जिल्ला समन्वय समिति दोलखाले पनि गाउँपालिका अध्यक्षलाई षड्यन्त्र पूर्वक ढंगले हमला गर्ने ब्यक्तिलाई तत्कालै कारवाही गर्न र आगामी दिनमा जनप्रतिनिधि हरुको सुरक्षामा ध्यान दिन प्रशासनको ध्यानाकर्षण गरेको छ ।
गाउँपालिका राष्ट्रिय महासंघले पनि जनप्रतिनिधि हरुलाई निर्वाध रुपमा जनताको सेवामा रहने वातावरण तयार गरी शान्ति सुरक्षा प्रदान गर्न माग गरेको छ ।
आफूलाई स्वयं सेवी भनेर चिनाउने आक्रमणकर्ता मानवहादुर काठमाण्डौमा ब्यवसाय गर्दै आएका ब्यक्ति हुन् । घटना पछि उनी काठमाण्डौ फर्किसकेका छन् । यस्ता खालका घटनाले प्रश्रय पाउँदा र शान्ति सुरक्षाको प्रत्याभूति नहुदा जनप्रतिनिधिहरु आक्रोसित बनेका छन् । यस बिषयमा स्थानीयप्रशासन भने मौन रहेको देखिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस !