शिशिर सिंखडा, चितवन । उमेरले ३२ वसन्त पार गरेका युवा अमृत अमगाई लायन्स चोक नारायणगढको पुरानो सब्जीमण्डीमा आज बिहानै पाकेको केरा होलसेलमा बेच्दै थिए । उनले सो सब्जीमण्डीमा दुईवटा सटर भाडामा लिएर केराको होलसेल व्यापार गर्दै आएका छन् ।


त्यसो त उनी व्यापारी मात्र होइन, किसान पनि हुन् । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ सूर्यपुर, प्रगतिटोल निवासी अमगाईले ७ बिगाहा जमिन भाडामा लिएर केरा खेती गर्दै आएको पनि ५ वर्ष भइसकेको छ ।
पृथ्वी मा.वि. भटेनीबाट २०६२ सालमा प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण गरेका उनी आर्थिक अवस्था कमजोर भएकै कारण नेपाल मा.वि. को १२ कक्षासम्मको पढाई सकेर वैदेशिक रोजगारीका क्रममा कतार जान बाध्य भए । पढाईमा अब्बल भएपनि घरायसी ऋण तिर्नुपर्ने बाध्यताले ६ वर्ष कतार बसेर घर फर्किएका उनको कतारमा मासिक तलव ७८ हजार नेपाली रूपैया थियो । के.एफ.सी. कम्पनीका ड्राइभर अमगाईको विदेश बस्ने रहर नभई बाध्यता थियो ।


पढाई पुरा गर्ने र देशमै केही गर्नुपर्छ भन्ने सानोदेखिको सोचले विदेशमा बस्न मन लागेन, उनले भने । घरको ऋण तिरिसकेपछि नेपाल फर्केर उनले केरा खेती र व्यवसाय दुवै गर्दै आएका छन् । बैंकबाट सहुलियत ऋण समेत लिई कृषि पेशा गर्दै आएका अमृतले वार्षिक करिब ५० लाख भन्दा बढीको कारोबार गर्ने गरेको बताउँछन् साथै वार्षिक २० लाख रूपैयाको हाराहारीमा कमाई समेत हुने गरेको उनी बताउँछन् ।
पढाईमा अब्बल अमगाईले कृषि कर्मको अतिरिक्त आफ्नो पढाईलाई निरन्तरता दिइरहेका छन् । आफूले पढेर डिग्री पास गर्ने धोको रहेको भन्दै विदेशबाट फर्किएर २०७४ सालमा विरेन्द्र क्याम्पसमा समाजशास्त्र विषयमा स्नातक तहमा भर्ना भएका थिए । उनी रेगुलर स्नातक पास समेत भए । गत हप्ता मात्र प्रकाशित परीक्षाफलमा आफू स्नातक पास हुँदा साह्रै खुशी लागेको उनले बताए । साथीभाइहरूले फेसबुकमा पास भएको बधाई दिँदा हर्षले आँखाबाट आशु आएको समेत उनले बताए । साथै उनले नियमित रूपमा अध्ययन गरी डिग्रीसम्मको अध्ययन पुरा गर्ने लक्ष्य रहेको समेत बताए ।


बुबा पदम प्रसाद अमगाईको मौरीपालन व्यवसायमा समेत सहयोग गर्दै आएका उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील छन् । कालिका जेसिजका संस्थापक कार्यकारिणी उपाध्यक्ष तथा हाल महासचिवमा रहेर उनले काम गर्दै आएका छन् । ७ वर्षका छोरीका बुबा अमृतको हरेक काममा श्रीमतीको साथ उत्तिकै रहेको छ ।
विदेशको राम्रो कमाई भन्दा पनि आफ्नो माटोमा केही गर्नुपर्छ भन्ने भावनाले कृषि क्षेत्र रोजेको उनले बताए । हरेक बिहान उनी नारायणगढको सब्जीमण्डीमा केरा व्यापार गर्दछन् भने सिजन अनुसार सुन्तला र तरकारी समेत विक्री गर्ने गरेको उनी बताउँछन् । बिहानको खाना खाइसकेपछि दिनभर केरा खेतीको गोडमेल तथा केरा काट्नुका अतिरिक्त ओसार्ने काम समेत उनले आफैले गर्ने गर्दछन् । छिमेकी किसानहरूको समेत केरा खरीद गरी उनले आफ्नै मण्डीबाट विक्री गर्ने गरेको बताउँछन् । बेलुकाको खाना खाएपछि मात्र उनले आफ्नो अध्ययन थाल्ने बताए । महिनामा १–२ दिन भन्दा बढी क्याम्पस जान नभ्याउने उनले घरमा नै स्वअध्ययन गरी नियमित रूपमा परीक्षामा उत्तीर्ण हुँदै आएका छन् ।


आफूलाई किसानी पेशा गरेको भन्दा गर्वको महसुस हुने समेत उनले बताए । केरा खेती गर्दा समयमा नै मल नपाउने, रोगको समस्या र भाडामा जग्गा पाउन मुस्किल हुँदा केरा खेतीलाई वृद्धि गर्न नसकेको उनले दुःखेसो पोखे । भारतबाट आउने केरा लगायतका कृषिजन्य पदार्थले देशभित्र भएका उत्पादनले राम्रो बजार नपाएको समेत उनले दुःखेसो पोखे । सरकारले किसानको हितका लागि यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस !