काठमाडाैँ । एमालेले कात्तिक ९ गते देशैभर पालिका अधिवेशन गर्ने भएकाे छ । नेकपा एमाले केन्द्रीय कमिटीकाे बिहिबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेकाे बैठकले देशैभरका पालिकाको अधिवेशन कात्तिक ९ गते गर्ने निर्णय गरेको हाे ।

पार्टीमा तटस्थ रहेर बैठकमा सहभागी नहुने गरेका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यसहित बिहीबार केन्द्रीय कमिटी बैठक बसेको हो । बैठकले पार्टीको संगठित सदस्यता असोज मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने निर्णय गरेको छ ।

यस्तै, भदौ १६–२० गतेसम्म पार्टीमा देखापरेका समस्या समाधान र १० बुँदे भावना अनुसार पार्टी चलायमान बनाउन जिल्ला भेला सम्पन्न गर्ने, भदौ २५–२६ गते स्थायी कमिटी बैठक र २७–२८ गते केन्द्रीय कमिटी बैठक गर्ने निर्णय भएको छ ।

यसैगरी, पार्टीको विधान महाधिवेशन असोज ४, ५ र ६ गते गर्ने, देशैभरका सम्पूर्ण वडा अधिवेशन कात्तिक ६ गते गर्ने, देशैभरका पालिका अधिवेशन कात्तिक ९ गते गर्ने, १०औं राष्ट्रिय महाधिवेशन मंसिर १०, ११ र १२ गते काठमाडौँमा गर्ने निर्णय भएको जनाइएको छ । बैठकले राष्ट्रिय जनगायक स्व. जेबी टुहुरेप्रति शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस !