विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजिनामा दिने भएका छन् ।संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट आजै राजिनामा गरेर एमाले सचिब भीम आचार्यलाई दलको नेता र मुख्य मन्त्री नियुक्त गर्ने तयारी रहेकाे छ ।

बुधबार राति अबेरसम्म मुख्यमन्त्री राई, एमाले प्रदेश एकका अध्यक्ष देवराज घिमिरेले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । मुख्यमन्त्रीमा आचार्यलाई अघि बढ्न अध्यक्ष ओलीले केही महिना अघि नै संकेत गरेका थिए ।

मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार ११ बजे संसदीय दलको बैठकले आचार्यलाई दलका नेता चयन गर्ने र लगत्तै राईले राजीनामा गरेर आचार्यलाई नियुक्त गर्न प्रदेश प्रमुखकहाँ आवेदन गर्ने तयारी छ ।

प्रदेश १ मा हाल ९२ जना सांसद छन् । सरकार बनाउन ४७ जना सांसद आवश्यक पर्दछ । त्यसमा राजेन्द्र राई,रानन राई र गणेश काम्बाङ माधव नेपालतिर लागेका छन् । यसो गर्दा पनि एमाले एक्लैको ४८ जना सांसदहरु हुन्छन् ।

प्रतिक्रिया दिनुहोस !