चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले केही खुकुलो गर्दै १० दिन निषेधाज्ञा थप गरेर भदौ २० गतेसम्म लम्ब्याएको छ ।

जारी निषेधाज्ञा भोलि रातीबाट सकिंँदैछ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज आदेश जारी गरी १० दिन निषेधाज्ञा थपिएको जानकारी दिनुभएको हो ।

आदेश अनुसार यसभन्दा अघि जारी गरिएको निषेधाज्ञामा चार वटाभन्दा बढी भीड हुने सरकारी कार्यालयहरू मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, नापी कार्यालय र जिल्ला प्रशासन कार्यालयहरू बन्द गरिएकोमा अबदेखि नियमित रूपमै सञ्चालन हुनेछन् ।

यसैगरी अत्यावश्यक बस्तु बाहेक दैनिक उपभोक्ताका बस्तुहरूका लागि साताको तीन दिन मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म सञ्चालन हुँदै आएकोमा अबदेखि पहिलेकै समय तालिकामा सातै दिन सञ्चालन गर्न पाइनेछ । अन्य क्षेत्रहरूको हकमा कुनै आदेश संशोधन तथा परिवर्तन गरिएको छैन ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले कोरोना सङ्क्रमितको सङ्ख्या घटेसँगै सिसिएमसीको सिफारिस अनुसार निषेधाज्ञा खुकुलो गरिएको बताउनुभयो ।

“अघिल्लो पटकको निषेधाज्ञामा ३ हजार ७ सय सक्रिय संक्रमित थिए शर्माले भन्नुभयो, अहिले घटेर १ हजार ७ सय जति छन् ।” उहाँका अनुसार सङ्क्रमितको दर अनुसार निषेधाज्ञालाई कडा र खुकुलो गर्दै लगिने छ ।

प्रतिक्रिया दिनुहोस !