चितवन । नेकपा एमाले विभाजन भएर अर्को पार्टी गठन भएपनि पूर्वी चितवनका नगर प्रमुखहरु एमालेमै रहने संकेत गरेका छन् । तर उनीहरु एमाले एक ढिक्का हुनु पर्ने पक्षमा भने छन् । पूर्वी चितवनमा चार वटा स्थानीय तह छ । वि.सं.२०७४ सालको स्थानीय तहको निर्वाचनमा चारै पालिकामा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग मन मिल्न नसकेपछि एमालेबाट अहिले वरिष्ठ नेता माधवकुमार नेपाल विभाजित भएर नेकपा एकिकृत समाजवादी पार्टी गठन गरिसकेका छन् । पूर्वका चार नगर प्रमुख मध्ये राप्ती नगरपालिका प्रमुख प्रभा बराल सुरुदेखीनै केपी ओली निकटमा रहेकी छिन् । अन्य पालिकाहरु खैरहनी,रत्ननगर र कालिका नगरपालिका प्रमुख नेपाल निकटका मानिन्थे । तर अहिले उनीहरुले पनि नेपालको धार परिवर्तन गरेका छन् । कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ गोपी अहिले ओली समुहमा खुलेरै लागेका छन् ।

श्रोतका अनुसार रत्ननगरका प्रमुख नारायण वन पनि ओली खेमामा लागिसकेका छन् । खैरहनीका प्रमुख लालमणि चौधरी दुवै खेमामा खुलेका छैनन् । आफ्नो कार्यकालमा नगरपालिकाको काममा व्यवस्त रहने भन्दै अहिले यो र उ नभनि जनताको काममा लाग्ने वताउँदै आएका छन् । तर पार्टी छनौट गर्नु पर्दा उनी एमालेमै रहने पक्षमा छन् । एमाले कुनै पनि हालतमा विभाजन हुन नहुने पक्षमा चौधरी थिए । कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ गोपी आफुसहित पूर्वी चितवनका प्रमुखहरु एमालेमै रहने दावी गर्छन् । तपाईले अव कुन पार्टी रोज्नु हुन्छ भन्ने प्रश्नमा श्रेष्ठले एमाले पार्टी कुनै पनि हालतमा नछोड्ने वताए । विभाजित भएको नेपाल समुह एमालेमै आउनुको विकल्प छैन् कालिकाका प्रमुख श्रेष्ठले भने – मन मिल्ने र पार्टीको सिद्धान्त मिल्नेहरु एकै ठाउँमा हुन्छौ । श्रेष्ठका अनुसार पूर्वी चितवनका नगर प्रमुखहरु आन्तरीक छलफलमा रहेपनि एमाले नछाड्नेमा छन् ।

हामी चारै जना नगर प्रमुख एमालेमै रहन्छौ श्रेष्ठले भने – कोही कता कोही कता हुदैनौ,वडाध्यक्षहरु,सदस्यहरु पनि एमालेमै हुन्छौ । नेपाल समुहमा रहेका राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामा ,केही वडाध्यक्ष,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु ओली खेमामा खुलेरै हिडिसकेका छन् । चितवनमा सात वटा पालिका छ । पूर्वी चितवनका चार पालिकामा एमालेको नेतृत्व छ भने भरतपुर महानगरपालिका र माडीमा नेकपा माओवादी केन्द्र तथा इच्छाकामना गाउँपालिका अध्यक्षमा काग्रेशबाट निर्वाचित भएका थिए । श्रोतका अनुसार जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी पनि अहिले ओली खेमामा खुलेरै लागेका छन् ।

केन्द्रमा एमाले विभाजित भएकै दिन बागमती प्रदेशका मुख्यमन्त्री समेत फेरवदल भएको थियो । बागमती प्रदेशमा एमाले एकढिक्का रहेको सन्देश दिनकै लागि नेपाल समुहमा रहेकी पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा एमाले अध्यक्ष केपी ओलीलेनै मुख्यमन्त्री वनाएका थिए । माधव नेपाल पक्षमा रहेका चितवन क्षेत्र नम्वर १ ख का प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल एमालेमै रहेर प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन् ।(ध्रुवराज खनाल)

प्रतिक्रिया दिनुहोस !