सुर्खेत । कर्णाली प्रदेशका ५ हजार भन्दा बढी छोरीहरू ‘बैङ्क खाता छोरीको सुरक्षा जीवनभरिको’ कार्यक्रममा सहभागी भएका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेशका २४ वटा स्थानीय तहबाट ५ हजार २ सय ८० छोरीहरूले कार्यक्रममा सहभागी भएका हुन् ।

प्रदेशका ७९ वटै स्थानीय तहमा ‘बैङ्क खाता छोरीको सुरक्षा जीवनभरिको’ कार्यक्रम लागु भएको छ । तर अझै ५५ वटा स्थानीय तहले कार्यक्रमको विवरण पठाएका छैनन् । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार सुर्खेतको वीरेन्द्रनगरमा ५ सय ३२ जना, भेरीगंगा नगरपालिकामा ४ सय १५ जना, गुर्भाकोट नगरपालिकामा ३ सय ५५ जना, लेकबेशी नगरपालिकामा १ सय ५९ जना र पञ्चपुरी नगरपालिकामा ३ सय २ जना छोरीहरू कार्यक्रममा सहभागी भएका छन् ।

सुर्खेतकै बराहताल गाउँपालिकाबाट १ सय ४८ जना, चिङ्गाड गाउँपालिकाबाट १ सय २७ जना र सिम्ता गाउँपालिकाबाट १ सय ५४ जना छोरीहरू कार्यक्रममा सहभागी भएको तथ्याङ्क उल्लेख छ । जिल्लाकै चौकुने गाउँपालिकाले हालसम्म विवरण पठाएको छैन ।

सुर्खेतमा ९ वटा स्थानीय तह रहेका छन् । बालविवाह र महिलामाथि हुने विभेद हटाउनका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷०७७ देखि प्रदेशभित्र जन्मिएका छोरीको बैङ्क खाता खोल्ने कार्यक्रम सञ्चालन ल्याएको हो ।

‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ खातामा छोरी जन्मेको महिनामै प्रदेश सरकारले एकमुष्ट १ हजार रुपैयाँ जम्मा गरिदिन्छ । त्यसपछि हरेक महिना ५ सय रुपैयाँका दरले बैङ्क खातामा २० वर्षसम्म जम्मा हुन्छ । त्यसपछि मात्र त्यो रकम झिक्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस !