काठमाडौं ।  माधवकुमार नेपालले निर्वाचन आयोगसमक्ष दल दर्ताका लागि नयाँ नामसहितको निवेदन दिएका छन् । अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी अर्थात् नेकपा एकीकृत समाजवादी हुने नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

पाण्डेले नयाँ नाम नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको जानकारी दिए । चुनाव चिन्ह भने टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ। ‘आयोगले दर्ता प्रमाण पत्र दिँदा चिन्हको टुंगो लाग्छ,’ उनले भने ।

निर्वाचन आयोगले यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न कानूनले नमिल्ने भन्दै अर्को नाम लिएर आउन मौखिक आग्रह गरेका थियो ।

नेपाल पक्षले यसअघि आयोगमा नेकपा (एमाले(समाजवादी) र चिन्ह खुला किताव प्रस्ताव गरेको थियो । एमाले (समाजवादी एमालेसँग मिल्दोजुल्दो भएको र खुल्ला किताब अर्कै पार्टीको रहेको भन्दै आयोगले नयाँ नाम र चिन्हसहित आउन भनेको हो । योसँगै नेपालले एमालेको ब्राण्ड छाडेका छन् ।

महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम परिवर्तन भएको छ । निर्वाचन आयोगमा शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टीको नाममा दर्ताका लागि पुनः निवेदन दिइएको जसपाका नेता सुरेन्द्र झाले बताए ।

यसअघि महन्थ ठाकुर समूहले बुधबार जसपा लोकतान्त्रिकको नाममा पार्टी दर्ताका लागि निवेदन दिएको थियो । बिहीबार जसपाले आफ्नो पार्टीको मिल्दाजुल्दो नाम महन्थ ठाकुरलाई नदिन माग गर्दै आयोगमा निवेदन दिएको थियो । त्यसपछि शुक्रबार ठाकुर समूहले आयोगमा आग्रहमा नाम फेर्दै लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि पुनः निवेदन दिएको हो ।

नयाँ पार्टीमा ३१ जनाको कार्यकारिणी समिति सदस्य रहेका छन् भने एक जना वरिष्ठ नेता थपिएको छ । यसअघि राजेन्द्र महतोलाई मात्रै वरिष्ठ नेता बनाइएकोमा अध्यावधिक विवरणमा शरतसिंह भण्डारीको नाम पनि थप गरिएको झाले बताए ।

 

प्रतिक्रिया दिनुहोस !