चितवन । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले चितवन सहित तीन जिल्लाका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने बताएका छन् ।
रत्ननगर नगरपालिकाले आफ्नै स्वागतको लागि आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले कोरोनाबाट बढी प्रभावित चितवन,काठमाडौं र काभ्रे जिल्लाका सबै नागरिकलाई खोप लगाउने बताए ।
नवगठित बागमती प्रदेश सरकारको पहिलो बैठकले प्रदेश भित्रका १३ जिल्ला मध्ये कोरोनाबाट बढी प्रभावित तीन जिल्लाका सबै नागरिकलाई तत्काल खोप लगाउन सुरु गर्ने निर्णय गरेको जानकारी दिए । चितवनबाट निर्वाचित साँसद समेत रहेका खनालले जनस्तरबाट बनेको रत्ननगर अस्पताल र जिल्ला आयुर्वेदिक अस्पतालको विकासको लागि ध्यान केन्द्रित गर्ने बताए ।
रत्ननगर अस्पताललाई नमुना बनाउने र रत्ननगरमा रहेको जिल्ला आयुर्वेदिक अस्पताललाई रत्ननगरमै स्थापित गर्न आफुले भूमिका खेल्ने उनको भनाई छ । उनले विकास र बजेट विनियोजनलाई विबेकपूर्ण तरिकाले अगाडि बढाउने बताए । समानुपातिक तरिकाले बजेट वितरण गरेर प्राथमिकताका आधारमा विकासका कामहरुलाई अगाडि बढाउने मन्त्री खनालले बताए ।
कार्यक्रममा मेयर नारायण वनले रत्ननगरले शिक्षा राज्य मन्त्री पछि दोश्रो मन्त्रीको रुपमा प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्री पाएको भन्दै रत्ननगरको आर्थिक तथा सामाजिक विकासलाई उचाईमा पु¥याउने अबसर प्राप्त भएको बताए ।
कार्यक्रममा उपमेयर विमला दुवाडी,जिल्ला आयुर्वेदिक अस्पतालका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा,निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्मा लगायतले मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !