काठमाडौं । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार (आज) दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका हुन् ।

शाक्यको साढे ८ बजेपछि शपथ ग्रहण कार्यक्रम राखिएको सांसद अरुण नेपालले मकालुखबरलाई जानकारी दिए । ‘उहाँ नियुक्त हुनुभयो,’ सांसद नेपालले भने, ‘शपथ ग्रहणसमेत चाँडै लिनुहुँदैछ ।’

यसअघि आजै बिहान शाक्यलाई नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता चयन गरेको थियो । मुख्यमन्त्री पौडेलले आज बागमती प्रदेश एमाले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता बनाइएको थियो । सोहीअनुरूप शाक्य मुख्यमन्त्री बनेकी हुन् ।

मुख्यमन्त्री शाक्यको शपथसँगै सानो मन्त्रिमण्डलसमेत बनाइने बताइएको छ । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि सोही खेमामा रहेकी शाक्यलाई मुख्यमन्त्री बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस !