काठमाडौँ । अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०ः १५ बजे त्रिभुवन विमानस्थल झरेका हुन् ।अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएको थियो ।

तीमध्ये १ सय २७ जना मंगलबार बिहान नेपाल आइपुगेको एफएसआई वर्ल्डवाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले जानकारी दिनुभयो । गुरुङकै कम्पनीले यी सुरक्षागार्डलाई अमेरिकी दूतावासमा काम गर्ने गरी अफगानिस्तान पठाएको थियो । उनीहरूलाई दोहाबाट कुवेतको अल-जजिरा विमानस्थल लगी त्यहाँबाट नेपाल ल्याइएको हो ।

दोहामा रहेका अन्य नेपाली सुरक्षागार्डलाई पनि क्रमश उद्धार गरेर ल्याउने तयारी रहेको गुरुङले बताउनुभयो । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको घोषणासँगै त्यहाँ द्वन्द्व झन् चर्किएको छ । विद्रोही तालिबान समूहले त्यहाँको सत्ता फेरि कब्जामा लिएको छ । त्यहाँ अझै थुप्रै नेपाली उद्धारको पर्खाइमा छन् । उनीहरूलाई नेपाल फर्काउन पाकिस्तान सरकारले पनि समन्वय गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस !