कञ्चनपुर ।  ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने भनाइलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ जुडाका प्रतापसिंह धामीको परिवारले जीवनमा चरिरार्थ गरेका छन् । अन्न नफल्ने खेतमा नर्सरी व्यवसाय गरेर उहाँको परिवारले मनग्य आम्दानी गर्दै आएका छन् । नर्सरी व्यवसायमा धामीका दाजु पानसिंह, भतिजा रुपसिंह समेत संलग्न रहँदै आएका छन् । तीनै जनाले अलग–अलग नर्सरीमा बिरुवा तयार गरी बिक्री गर्दै आएका छन् ।

नर्सरीमा उत्पादित बिरुवा एक जनाले मात्रै वार्षिकरूपमा रु २५ देखि रु ३० लाखसम्मको बिक्री गर्दै आएका छन् । तीनै जनाले रु ७५ लाखदेखि रु एक करोडसम्मका बिरुवा वार्षिकरूपमा बिक्री गर्दै आएका छन् । कोरोनाको महामारी फैलिएपछि बिक्रीमा केही कमी आएको छ । हाल रु १० लाखदेखि १५ लाखसम्मका बिरुवामात्रै बिक्री हुने गरेका छन् । धामी परिवारले उत्पादन गरेका बिरुवा सुदूरपश्चिमबाट कर्णाली प्रदेशसम्म बिक्री हुने गरेको थियो । कोरोना महामारी फैलिएपछि हाल उत्पादित बिरुवा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा मात्रै आपूर्ति हुने गरेको छ ।

प्रतिपरिवारले बिरुवा बिक्री गरी वार्षिकरूपमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् । धामी परिवारका नर्सरीमा घर सजावटका बिरुवा, घाँस प्रजातिका बिरुवा, काष्ठ प्रजातिका बिरुवा, विभिन्न प्रजातिका बाँसका बिरुवा, फलफूलका बिरुवा पाइने गरेका छन् । बिरुवा उत्पादनका लागि बीउ तयार गर्नेदेखि बिरुवा उत्पादन र कलमी गर्नेलगायतका काम धामी परिवारले नर्सरीमै गर्ने गरेका छन् । धामी परिवारले सञ्चालन गरेका तीनवटै नर्सरीमा एक दर्जन बढी व्यक्तिलाई रोजगारीसमेत दिएका छन् ।

विसं २०४६ मा भारतले गरेको नाकाबन्दीका बेला भारतीय निकटवर्ती बजार वनवसाबाट घरमै रोप्नका लागि धामी दाुजभाइलाई फलफूलका बिरुवा ल्याउँदै गर्दा सीमानाका महाकाली पुलमा पुगेका बेला भारतीय सुरक्षाकर्मीले बिरुवा ल्याउन दिएनन् । कर्णालीमा पुल नहुँदा नेपालमै उत्पादित बिरुवा ल्याउन सकिने अवस्था थिएन । भारतले सीमा क्षेत्रमा नाकाबन्दी गरेकाले बिरुवा ल्याउन दिएन ।

“वनवसाबाट २५वटा आँपका बिरुवा ल्याएका थियौँ”, विगत सम्झँदै प्रतापसिंह धामीले भन्नुभयो, “बिरुवा ल्याउन नदिएपछि घरमै बिरुवा उत्पादन गर्ने निधो ग¥यौँ । बिरुवा उत्पादन गर्ने ज्ञान थिएन । त्यसपछि तत्कालीन कृषि विकास कार्यालयमा पुगेर बिरुवा उत्पादन गर्नेबारे तालिमको मागबमोजिम तालिम पायौँ ।”

तालिमअनुसार धामी दाजुभाइले एकैसाथ मिलेर सुनकागतीका बिरुवा कलमी गरेर उत्पादन सुरु गरे । पहिलो वर्ष ४०० बिरुवा बिक्री भए । त्यसपछि उत्साहित हुँदै आँप, बाँस, कागती, कटहरका बिरुवा तयार गरी साइकलमा बजारमा लगेर बिक्री गर्न थाले । सहजै बिरुवा बिक्री हुन थालेपछि धामी परिवारले पछाडि फर्केर हेर्नुपरेन ।

“पाखो भएको जग्गा थियो । अन्न फल्दैनथ्यो । परिवारका लगि अन्नको जोहो मिलाउनसमेत धौधौ हुन्थ्यो”,उहाँले भन्नुभयो, “हाल त्यही जग्गामा तीनवटा नर्सरी स्थापना गरी गतिलो आम्दानी हुन थालेको छ ।” नर्सरी व्यवसायमा संलग्न धामीका दाजु पानसिंह, भतिजा रुपसिंहले अलग–अलगरूपमा एक÷एक बिघामा गरी तीन बिघा जग्गामा नर्सरी व्यवसायलाई विस्तार गरेका छन् ।

तीनै जनाले व्यवसाय दर्ता गरेर आँप, लिची, केरा, एभोकाडो, नरिवल, सुपारी, सपोटा, ल्वाङ, कालीमिर्च, कागती, सुन्तला, अम्बा, कटहर, नासपाती, अनार अमिलोलगायतका फलफूल प्रजातिका बिरुवा उत्पादन गर्दै आएका छन् । आँप मात्रै १४ र लिची पाँच प्रजातिका रहेका छन् । घाँस प्रजातिमा सुपर नेपियर, स्मार्ट नेपियर, बकाइनो, टाँकी, वडहर, भिमल, इपिलइपिल, बडहर, किमु र काठ प्रजातिमा सात प्रजातिका बाँस सिसौ, सिमल, जामुन, टिक, पलोनिया, अगरउड, मलेशियन साल, महागुणी, रुद्राक्ष, रक्तचन्दनलगायका बिरुवा उत्पादन हुँदै आएका छन् ।

घर सजावटका बिरुवामा अशोक, बोटलपान, समी, धुपी चाइनापान, इरकापान, एरोकेरिया, पनिस पान, साइकस, निलोना, गुडल, चाँदनी, हेपिकस, हेमेलिया, असारे, लालुपाते गुलाव लगायतका बिरुवाको उत्पादन नर्शरीमा हुदै आएको छ । कुनै पनि ठाउँमा नपाईएका बिरुवा धामी परिवारले सञ्चालन गरेको नर्शरीमा पाईने गरेको छ । नर्शरी व्यवसायका लागि उनीहरुले रु १० लाख देखि रु २५ लाख सम्म लगानी गरेका छन ।
नर्शरीमा काम गर्ने मजदुर, प्लाष्टिक व्याग, बिरुवाको बीउ, सिचाई, मल, बिषादी सहितमा खर्चेर रु तीन लाख रकम बचत हुने गरेको रुप सिंह धामीले बताउनु भयो ।
“नर्शरीमा बिरुवा उत्पादन गर्न चाहिने कच्चा पदार्थ सहित बीउका लागि भारतको रुद्रपुर, रामनगर र बरेली पुग्नु पर्ने बाध्यता रहेको थियो” उहाँले भन्नु भयो, “हाल कोरोना महामारी फैलिए पछि कच्चा पदार्थ ल्याउन सकिएको छैन ।”
“बुवा र काका दुवै जना बाट नर्शरी तयार गर्ने तरिका सिकेपछि यसलाई व्यवसाय बनाएको हु” रुपसिंहले भन्नु भयो, “अन्न र अन्य व्यवासीक खेती भन्दा नर्शरी व्यवसाय बाट बढी आम्दानी लिन सकिने भएकाले भारतमा महिनाको रु १५ हजार पाईने नौकरी छाडेर नर्शरी व्यवसाय अंगालेको छु ।”
बिरुवा खरिद गर्ने व्यवसायीले गाडी सहित घरमै पुगेर नगद रकम दिई लग्ने गरेका छन । बिरुवा उत्पादनका लागि माग आउने गरेको छ धामीले भन्नु भयो, “त्यसै अनुरुप बिरुवा उत्पादन गर्दै आएका छौं ।” तराईका जिल्लाभन्दा सुदूरपश्चिमका पहाडी जिल्लामा यहाँ उत्पादित बिरुवाको बढी माग हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !