काठमाडौं । कर्णाली प्रदेशमा यसअघि तुलनात्मक रुरूमा बलियो अवस्थामा रहेको नेकपा एमालेका असन्तुष्ट पक्ष माधव कुमार नेपाल र झलनाथ खनाल (नेपाल–खनाल) समूह पछिल्लो दिनमा कमजोर बनेको छ ।

१० वटा जिल्ला रहेको कर्णाली प्रदेशमा अहिले ८ वटा जिल्लाका जिल्ला कमिटीहरूमा एमालेको संस्थापन पक्ष बलियो बनिसकेको छ । बाँकी दुई वटा जिल्लामा पनि नेपाल–खनाल समूह झन्–झन् कमजोर बन्दै गरेको अवस्था छ ।

माधव नेपाल पक्षका ४ जना सांसदले माओवादी–कांग्रेस गठबन्धनलाई सघाएपछि पार्टीको आन्तरिक समीकरणमा फेरबदल आउन थालेको हो । यसअघि कर्णालीमा केपी ओली भन्दा माधव नेपालको पक्ष बलियो थियो ।

तर, यसअघि नेपाल–खनाल समूहबाट जिल्ला अधिवेशनमा विजयी बनेका जाजरकोटका अध्यक्ष करवीर शाही, सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाही र हुम्लाका अध्यक्ष दल रावल संस्थापन पक्षमा खुलेर लागेपछि नेपाल समूहमा कर्णालीका दुई जना अध्यक्ष मात्रै बाँकी रहेका हुन् ।

रुकुम पश्चिमका विमल पुन र जुम्लाका अध्यक्ष तीर्थ बुढा नेपाल पक्षमा छन् । २०७५ जेठ दुई गतेको एमाले संरचनाका आधारमा कर्णालीका ५ जिल्लामा नेपाल पक्ष हावी थियो ।

प्रतिक्रिया दिनुहोस !