बनियानी ।  इजरायलमा हुने उन्नत जातको केराखेती झापामा शुरु भएको छ । झापा गाउँपालिका–३ का कृषक चन्द्रप्रसाद बस्नेतले इजरायलमा हुने उन्नत जातको ‘विलियम हाइब्रिड’ जातको केराखेती शुरु गर्नुभएको हो । झापामा पहिलोपटक भित्र्याइएको उक्त जातको केरा सुगन्धित र स्वादिलो हुने उहाँले बताउनुभयो ।

“एउटै माटोमा दश वर्षसम्म खेती गर्न मिल्ने यो जातको केरामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ”, उहाँले भन्नुभयो, “ यो केराखेतीबाट १० वर्षसम्म आम्दानी लिन सकिन्छ, यो अन्य जातको केरामा हुँदैन ।” यो केरामा रोग कम लाग्ने भएकाले उत्पादन बढ्ने र उच्च लाभ मिल्ने उहाँको दाबी छ ।

विलियम केराको बोटको मध्यम उचाइ बढीमा दश फिटसम्मको र निकै मोटो गोलाइको हुन्छ । यसको बोट र पात गाढा हरियो हुन्छ । केराको घरी लामो र बाक्लो काइँया ९१२ देखि १५ सम्म० हुने उहाँले बताउनुभयो । कोसा मोटो र लामो हुने बताउँदै उहाँले भन्नुभयो, “एउटा घरीमा १७० देखि २०० कोसासम्म फल लाग्छ ।”

बस्नेतले अन्य युवाहरुको सहकार्यमा एग्रिसेन्टर झापा प्रालि कृषि फार्म सञ्चालन गर्नुभएको छ । एग्रिसेन्टरमा उहाँसँगै डम्बर खनाल, पूजा खनाल, हरिकला कार्कीलगायत पाँच जनाको साझेदारी छ । रु २५ लाखबाट शुरु गरेको व्यवसायमा अहिले रु ७० लाख लगानी पुगिसकेको छ । एक वर्षअघि शुरु गरिएको केराखेती फस्टाएपछि खेती विस्तार पनि हुँदै गएको छ । केराखेती बढाएर २५ बिघामा पु¥याउने लक्ष्य रहेको सुनाउँदै उहाँले भन्नुभयो, “जग्गा भाडामा लिएर घेराबारा गरिसकेका छौँ, आउने मौसममा बिरुवा लगाउँछौँ ।” हाल दुई बिघा क्षेत्रफलमा गरिएको केराखेतीमा इजरायली विलियमसँगै नेपालका लागि नयाँ प्रजातिकै मानिने भुटानी मालभोग केरा रोपिएको छ । बगानको बीच–बीचमा नेपाली मालभोग केरा पनि लगाइएको बस्नेतले बताउनुभयो ।

सरकारी कोटामा स्थानीय कृषि सहकारी संस्थामार्फत कृषिसम्बन्धी ज्ञान हासिल गर्न ११ महिना इजरायल जानुभएका बस्नेतले त्यहाँ केराखेतीसम्बन्धी सिकेको सीप र प्रविधिअनुसार नै आफ्नै गाउँठाउँमा केराखेती गरेको र त्यसबाट सफलता प्राप्त हुँदै गएको उल्लेख गर्नुभयो । इजरायलबाटै विलियम जातको केराको एउटा बिरुवा ल्याएको र काठमाडौँको कृषि प्रयोगशालामा विकास गरिएको बिरुवा ल्याएर खेती गरिएको उहाँ बताउनुहुन्छ । अहिले उहाँको बगानमा पाक्दै गरेका, पाक्न आँटेका, पसाउँदै गरेका र हुर्कँदै गरेका विभिन्न चरणका केराका बोट छन् ।

विलियम जातको केराखेतीमा अन्य कृषकको पनि आकर्षण बढ्दै गएको बस्नेत बताउनुहुन्छ । फार्मबाट झापाका अन्य कृषकका साथै चितवनसम्मका कृषकले बिरुवा लैजाने गरेका छन् । यहाँबाट उत्पादित केरा धेरैजसो काठमाडौँ जाने गरेको छ । साथै पूर्वको इटहरी, दमक, बिर्तामोड, धरान, विराटनगरलगायतका बजारमा बिक्री भइरहेको छ । उत्पादित केराको बजारको अभाव नरहेको बताउँदै उहाँले भन्नुभयो, “बजारको समस्या छैन, व्यापारीहरु बगानमै आएर पनि लैजानुहुन्छ ।”

शुरु–शुरुमा धेरै नाफा नदेखे पनि अबको उत्पादनले नाफा दिने उहाँको भनाइ छ । उहाँले आउँदो दशैँलाई लक्ष्य गरेर केरा उत्पादनको तयारी गरिरहनुभएको छ । केराखेतीका लागि यहाँको माटो अनुकूल भएकाले रासायनिक मलको आवश्यकतै नपर्ने बताउँदै उहाँले आफूहरुले उत्पादन गरेको केरा अग्र्यानिक रहेको दाबी गर्नुभयो । भन्नुभयो, “खेतमा आफैँ तयार पारेको जैविक मल प्रयोग गर्छौँ ।” फार्ममा अहिले पाँच जनाले रोजगारीसमेत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस !