शिशिर सिंखडा, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ जमुनापुरमा १ करोड रूपैयाको लगानीमा कृषि घाँस उद्योग सञ्चालनमा आएको छ । जय माँ लक्ष्मी कृषि घाँस उद्योग, साइलेज निर्माण तथा कष्टम ह्यारिङ सेन्टरको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।
स्थानीय प्रेम थापा, शिव थापा र सुजिन्द्र बहादुर थापाको संयुक्त लगानीमा सो कृषि घाँस उद्योग सञ्चालनमा आएको हो । गाई, भैँसी, बाख्रा लगायतका पशु वस्तुहरूलाई खुवाउने घाँस उत्पादन तथा प्याकेजिङ गर्ने उद्देश्यका साथ सो कृषि घाँस उद्योग सञ्चालन गरिएको उद्योगका अध्यक्ष प्रेम थापाले बताउनुभयो । हरियो मकै सहितको बोटलाई काटेर मेसिनको माध्यमबाट कृषि घाँस प्याकेजिङ गर्ने काम गरिन्छ । सो घाँस प्याकेजिङ गर्दा नै पशु वस्तुहरूलाई आवश्यक पर्ने मिनलरहरू समेत राखी प्याकिङ गरिने अध्यक्ष थापाले जानकारी दिनुभयो । सो प्याकिङ गरिएको घाँस ५ वर्षसम्म प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।


स्थानीय किसानहरूले लगाएको मकैको हरियो बोट सहित प्रति कठ्ठा २ देखि ३ हजार रूपैयामा खरीद गरी उद्योगले ल्याउने गरेको उद्योगका सञ्चालक शिव थापाले जानकारी दिनुभयो । हाल चितवनको पदमपुर, जमुनापुर, पिठुवा क्षेत्रबाट हरियो मकै सहितको घाँस खरीद गर्ने गरिएको थापाले जानकारी दिनुभयो ।
किसानहरूले उत्पादन गरेको मकै बजारमा विक्री गर्ने मूल्य भन्दा महङ्गो मूल्यमा उद्योगले मकैको बोट सहित किनिदिने र उद्योगबाट उत्पादित साइलेज (कृषि घाँस) पनि बजारमा पाइने ढुटो, चोकर, दाना भन्दा सस्तो भएकोले किसानहरूको माग बढी रहेको सञ्चालक थापाले बताउनुभयो । हाल स्थानीय किसानका अतिरिक्त पोखरा, काठमाडौँ, बुटवल, लुम्बिनी क्षेत्रबाट सो घाँसको माग भइरहेको उहाँले बताउनुभयो । व्यवसायिक तथा साना किसानहरूका लागि पनि यो घाँस महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।


हाल उद्योगमा ७५ लाख रूपैया लगानी भइसकेको छ भने २५ लाख रूपैया लगानीकै क्रममा रहेको उद्योगका सञ्चालक सुजिन्द्र बहादुर थापाले जानकारी दिनुभयो । रत्ननगर नगरपालिकाले कृषि उद्योगका लागि साइलेज निर्माण तथा कष्टम ह्यारिङ सेन्टर र उपकरण खरीदका लागि करिव २५ लाख रूपैया अनुदान दिएको समेत थापाले जानकारी दिनुभयो ।
आज सो उद्योग परिसरमा आयोजित एक कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले उद्योगको उद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्दै उहाँले कृषिमा आधुनिकीकरण र आत्मनिर्भरताको लागि नगरपालिका सधैँ किसानको साथमा रहेको बताउनुभयो ।


सो कार्यक्रममा उप–मेयर बिमला दुवाडी, वडा नं. १२ का अध्यक्ष विर बहादुर पाख्रिन, वडा नं. ३ का अध्यक्ष गोविन्द प्रसाद भट्टराई, रत्ननगर नगरपालिका पशु सेवा कार्यालयका प्रमुख सालिकराम पौडेल, जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका सचिव किशोर बगाले लगायतले कार्यक्रम मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !