काठमाडौं । नेकपा (एमाले)ले भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आइतबार बसेको स्थायी कमिटी बैठकले आगामी २०७८ भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

एमाले सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ । स्थायी कमिटीका प्रस्तावलाई अन्तिम रुप दिन केन्द्रीय कमिटीको बैठक आगामी साता बोलाइने ज्ञवालीले बताउनुभयो ।

स्थायी कमिटी बैठकले आगामी असोजको पहिलो हप्ता देशका सबै वडाहरुमा वडा अधिवेशन र दोस्रो हप्ता सबै पालिकाहरुमा पालिकास्तरमा पार्टी अधिवेशन गर्ने निर्णय गरेको छ ।

बैठकले हालै दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेको बेला तुइनको लठ्ठा चुँडाउने र उर्लिंदो भेलमा बेपत्ता पार्ने गरी घटित घटनाको निन्दा गर्दै उक्त घटनाको सत्यतथ्य अविलम्ब नेपाली जनतासामु प्रस्तुत गर्न सरकारको ध्यानाकर्षण गराएको छ । एमालेले त्यस विषयमा भारतीय पक्षसँग जानकारी माग गर्न, दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउनसमेत माग गरेको छ ।

‘आफ्नो पार्टीको सरकार ढाल्नेबाट केही पनि सिक्न सकिँदैन’
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पु¥याउने नेताबाट आमकार्यकर्ता र नागरिकले केही पनि सिक्न नसक्ने बताउनुभएको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठानले कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २४औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीभित्रै कतिपय नेतामा पार्टीप्रतिको निष्ठाको भाव नभएको बताउनुभयो । नेपाली जनताले विकास र सुशासनका लागि कम्युनिष्ट सरकार नै चाहिन्छ भन्ने महसुस गरेको उहाँले बताउनुभयो । आफूले नेतृत्व गरेको सरकारका कारण आमजनताको सरकारप्रति आशा र भरोसा बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही व्यक्तिको हतारो र गैरजिम्मेवारीले गर्दा सरकार र पार्टीमा यो अवस्थामा आएको हो ।”

पूर्वप्रधानमन्त्री ओलीले तुलसीलाल अमात्य, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रितलगायतका नेताले पार्टी र जनताका लागि निस्वार्थ रुपमा योगदान गरेको उल्लेख गर्नुभयो । उहाँहरूले देश र पार्टीका लागि व्यक्तिगत स्वार्थ र अहम त्यागेर लागेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पुष्पलालले काँचो चना खाएर पनि पार्टी र देश बनाउन लाग्नुभएको थियो ।”

एमालेले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा अगुवाई गरिरहेको अध्यक्ष ओलीको भनाइ छ । परराष्ट्र तथा औद्योगिक नीति, व्यापार, कृषि, सिँचाइ सबैमा एमालेले लिएको नीति नै राष्ट्रिय नीति बन्ने गरेको उहाँले बताउनुभयो । सत्यका पक्षमा लाग्ने व्यक्तिलाई बिगतदेखि नै विभिन्न पक्षले असहयोग गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ऋषिमुनिका तपस्या भाड्नेदेखि बुद्धलाई गलत देख्नेहरू नभएका होइनन् । त्यो कुरा अझैसम्म रहेको छ ।”

प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले विगतमा एकीकरण भएको कम्युनिष्ट पार्टी केके कारणले गर्दा फुट्यो भनेर समीक्षा गर्नुर्ने औँल्याउनुभयो । एमाले स्थायी कमिटी सदस्य केशव बडालले तुलसीलालको पार्टी र देशप्रतिको निष्ठा भावबाट हामीले धेरै कुरा सिकेर अवलम्बन गर्न सकिनेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !