काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगेका छन् ।

दाहाल र नेपालबीच अहिले कोटेश्वरमा छलफल चलिरहेको छ । आफ्नो पार्टी नेकपा एमालेभित्र आन्तरिक एकतामा अनिच्छा प्रकट गरिरहेका नेता नेपालाई प्रचण्डले बारम्बार भेट गर्दै आइरहेका छन् । जब एमालेमा एकताको सम्भावना देखिन्छ उति नै बेला नेता नेपाल र दाहालको भेट भइरहेको देखिन्छ ।

फलस्वरुप नेता नेपालले आन्तरिक एकतामा बखेडास्वरुप एकपछि अर्को एजेण्डा तेर्स्याएर एकता प्रक्रियामा भाँझो हाल्दै आएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय लचिलो देखिए पनि नेता नेपाल अनेक बहानामा अडान लिएर बसेका छन् । जसका कारण एकता हुनेमा अब सम्भावना समेत देख्न छाडिएको छ ।

नेपाललाई सत्ता सहकार्यमा ल्याउने दाहालको प्रयासका कारण पनि एमालेका एकता टाढिदै गइरहेको छ । आज पनि दाहालले सत्ता सहकार्यबारे छलफल गर्ने बताइए पनि एमालेको एकताको विषयमा पनि छलफल भइरहेको स्रोतको दाबी छ ।

एमालेको माधव समूहलाई सरकारमा ल्याउने कसरतमा दाहाल छन् । तर माधव समूहभित्र सत्तामा जाने कि नजाने भन्नेमा तीव्र मतभेद छ । केहीले पार्टी एकतामा जोड दिँदै सरकारमा जान नहुने बताइरहेका छन् भने कतिपयले आफैले निर्माण गरेको सरकारमा सहभागी भएर हिस्सा लिनुपर्ने बताइरहेका छन् ।

पार्टी एकताका लागि प्रयास गर्ने भन्दै शनिबार एजेण्डामा प्रवेश नगरी एमाले स्थायी कमिटी बैठक स्थगित भएको थियो । हिजो स्थगित भएको बैठक आज अपरान्ह ३ बजे बस्ने र माधव समूह सहभागी नभए पनि उक्त बैठक अघि बढाउने तयारी एमाले संस्थापन समूहले गरिरहेको छ ।

अध्यक्ष ओलीले माधव नेपाललाई अपराधीको संज्ञा दिँदै उनी जस्तालाई एमालेमा स्थान नरहेको अभिव्यक्ति शनिबार पनि दोहो¥याएका थिए । शनिबारकै अर्को एक कार्यक्रममा वरिष्ठ नेता नेपालले देउवा सरकार सफल हुनुपर्ने धारणा व्यक्त गर्दै फेरि पनि फर्केर प्रधानमन्त्री बन्न सकिन्छ कि भनेर जालझेल नगर्न ओलीलाई चेतावनी दिएका थिए ।

सरकारमा सहभागिताबारे माधव समूहले निर्णय लिन नसक्दा मन्त्रिपरिषद् बिस्तार हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस !