काठमाडौं । नेकपा एमालेले एकता प्रक्रिया टुंगो लगाउन थप २४ घण्टाको समयसीमा तोकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तिम पटकका लागि २४ घण्टा बैठक सार्दै यस्तो समयसीमा तोक्नु भएको हो । बिवादको छिनोफानो गर्नका लागि अध्यक्ष ओलीले आजसम्मको समय दिनुभएकोमा आइतवारसम्म सारिएको हो ।

समय थपसँगै माधव नेपाल समुहमा रहनुभएका नेताहरूको आग्रहमा आज बोलाइएको एमाले स्थायी कमिटी बैठक आइतबारसम्मलाई स्थगित भएको छ । अध्यक्ष ओलीले पार्टी अनिर्णयको बन्दी भएर नबस्ने जनाउँदै आज दिउसो ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको थियो ।बैठकअघि आजै बिघटित कार्यदलमा रहनुभएका नेताहरुबीच छलफल भएको थियो । अझै पनि एकताको प्रयास जारी राख्ने भन्दै नेपाल निकट नेताहरूले आजको बैठक रोकेर माधव नेपालसँग छलफल गर्न आग्रह गर्नुभएको थियो । उपाध्यक्ष भीम रावल लगायतका नेताहरूले अझै पनि प्रक्रिया पूरा गरौं भनेर गरेको आग्रहलाई अध्यक्ष ओलीले सकारात्मक रूपमा लिएर बैठक आइतबार ३ बजेसम्मलाई स्थगित गरिएको हो ।

एकताकै लागि आज बैठक बसेलगत्तै एजेण्डामा प्रवेश नगरी स्थगित गरिएको छ । आइतबार दिउँसोसम्म टुङ्गो नलागेमा अब माधव नेपाललाई नपर्खने र पार्टीलाई अघि बढाउने निश्कर्षमा एमाले संस्थापन पुगेको छ । माधव समुहका दोस्रो तहका अधिकांश नेता पार्टी एकताको पक्षमा रहेपनि माधव स्वयं एमालेमा फर्कदै नफर्कने अडानमा हुनुहुन्छ । आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार गठनमा नेतृत्व गरेको कारण नेता नेपाल एमालेमा फर्किए पनि आफ्नै कार्यकर्ताले स्वीकार नगर्ने भन्दै अहिले आफूसँग भएको शक्ति लिएर नयाँ पार्टी गठन गरी माओवादीमा बिलय गराउने योजनामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !