सिद्धि । मंगलबार दिउँसो हामी पुग्दा २७ वर्षीया सुनिता चेपाङ ११ महिने छोरालाई औषधि खुवाउँदै थिइन् । मझवाङ खोला र लालिवाङ खोलाको बीचमा रहेको डाँडोको डिलमा अस्थायी टिनको टहरोमा बसेको करिब एक महिना हुन लाग्यो । अहिले बसिरहेको डिलबाट करिब दुई सय मिटर मझवाङ खोलातर्फ कामीमाङको घरखेत बगाएपछि उनको परिवार अस्थायी टहरोमा बसिरहेको छ । पाँच दिनदेखि छोरोलाई ज्वरो, खोकी र पखालाले सताएको छ । मौसम घरी घाम लाग्ने, घरी पानी पर्ने, घरी हावा चल्ने भइरहेको थियो ।

असार १७ गते बिहान आएको बाढीले कालिका नगरपालिका वडा नं. ११ कामीमाङ गाउँका चेपाङ परिवार घरबारविहीन भएपछि अस्थायी छाप्रो बनाएर बसेका हुन् । ‘यहाँ बस्न पनि सुरक्षा त छैन, तर अन्त जाने पनि ठाउँ नै नभएपछि बाध्य भएर यहाँ छाप्रो हालेर बसेको,’ उनले भनिन्, ‘साना केटाकेटी भएको घरमा खेल्ने आगनसमेत छैन ।’ बच्चा झुक्किएर लडे पूर्वतर्फ लालिवाङ खोला र पश्चिमतर्फ रन्तेस जाने बाटोमा खस्छन् । एकै ठाउँमा पकाउने, खाने र सुत्ने उनीहरुको बाध्यता हो । वडा नं. ११ कै होइलिङका गुतीलाल चेपाङले पनि सरकारी मान्छेहरु आएर फर्किए पनि हालसम्म कुनै काम नभएको गुनासो गरे ।

साविकको सिद्धि गाविसका अध्यक्षसमेत रहेका कालिका–१० का कृष्णबहादुर प्रजा र इष्टिमाया चेपाङको परिवार पनि अहिलेसम्म आफन्तको सहारामा छन् । खोला किनारमा रहेको खेतको फाँटसहितको घर बगरमा परिणत भएपछि कृष्णबहादुरको परिवार सिद्धि छात्रावासमा ओत लाउँदै आएका छन् । इष्टीमायाको परिवार भने छिमेकी गोपीराम चेपाङको बाख्रा खोरमा रात बिताउँदै आएको छ । ‘भएको बारीसहितको घर नै बगाएपछि आफ्नो नाममा केही बाँकी रहेन,’ इष्टीमाया भन्छिन्, ‘आफन्तको साहारा लिएर कहिलेसम्म बसिरहने ? जाम् कता जाम् ? बसम् अर्काकोमा कति बस्ने ?’

केही निजी क्षेत्र र क्लबहरुको सहयोगमा अहिलेसम्म बाँचिरहेको उनले बताइन् । तर, सरकारी निकायबाट अहिलेसम्म कुनै पनि सहयोग नआएको उनको गुनासो छ । प्रभावित क्षेत्रका जनतालाई सरकारले तत्काल अवस्था हेरेर गास, बास र कपासको व्यवस्था मिलाउनुपर्नेमा अहिलेसम्म कुनै पनि प्रयास नभएको उनले बताइन् ।

बाढीपहिरो प्रभावित क्षेत्रमा अनुगमन गर्न स्थानीयदेखि केन्द्रीय नेताले अनुगमन गरे । तर, बाढीपहिरोप्रभावित क्षेत्रको अवस्था भने जस्ताको त्यस्तै छ । सरकारी क्षेत्रबाट तथ्याङ्क सङ्कलन गर्ने र बाटो पन्छाउनेबाहेक बाँकी कुनै पनि काम नभएको स्थानीयको भनाइ छ । ‘नगरपालिकाको मेयरदेखि प्रदेशको मन्त्री, मुख्यमन्त्री हुँदै केन्द्रीय नेताले समेत आएर यो ठाउँको अनुगमन गरेर जानुभो, तर अहिलेसम्म प्रतिकृया केही पाएका छैनौँ,’ सिद्धि बजारका दिनेश चेपाङले भने, ‘सरकारबाट कुनै पनि आश नदेखेपछि मैले पनि पहिरोले भत्काएको घर मर्मत गरेर यही घरमा बस्न थालेको छु ।’

स्टेसनरी पसल चलाएर बसेका उनी आधारभूत विद्यालय रन्तेसका प्रधानाध्यापकसमेत हुन् । उनको घरको पछाडिबाट बाढीसहित आएको पहिरोको कारण उनी पनि घरबारविहीन बनेका थिए । तर, कति दिन बाहिर बस्ने भनेर उनले भत्किएकै घरलाई सरसफाइ गरेर त्यही घरमा बस्न थालेका हुन् । बाढीपहिरोले तर्साएपछि अहिले पनि ठूलो पानी दर्किँदा उही दिनको झल्को आउने गरेको उनले सुनाए । ‘रातको दर्के पानी आउँदा अझै पनि निदाउन सकिँदैन,’ उनले भने ।

बाढीले गाउँ नै ध्वस्त पारेको तीन दिनपछि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठसहितको टोली घटनास्थल पुगेको थियो । करिब एक हप्तापछि बागमती प्रदेशमन्त्री दावादोर्जे लामा, मुख्यमन्त्री डोरमणि पौडेल र केन्द्रीय तहका नेता कृष्णभक्त पोखरेलले पालैपालो बाढीपहिरोप्रभावित क्षेत्रको निरीक्षण गरे । नेताहरु आएर फर्किएपछि गास, बास र कपासको आस गरेका बाढीपहिरोप्रभावित सिद्धिवासी अझै पनि छिमेकीको सहारामा बस्न बाध्य छन् ।

तर, कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले भने तत्काल राहत बाँड्ने र बाटो खोल्ने काम गरिएको बताए । विस्थापित भएका परिवारलाई तत्कालको लागि आवश्यक राहत तथा वासस्थानको व्यवस्थापन गरिदिएका छौँ,’ उनले भने, ‘तत्कालका लागि आधारभूत आवश्यकता दिएका छौँ । अभाव भइहालेमा वडामा खबर गर्नू भनेका छौँ । प्रभावित क्षेत्रका नागरिकसँग हामी निरन्तर सम्पर्कमा छौँ ।’

नगरपालिकाभित्र १७ घरधुरीमा पूर्ण क्षति र ३५ घरधुरीमा आंशिक क्षति पुगेको उनले बताए । नगरभित्रका करिब ५० विगाह खेतीयोग्य जमिन केही पुरिएका र केही बगाएका उनले बताए । ‘नगरपालिकाभित्रको क्षतिबारे प्रदेश र संघीय सरकारसमक्ष जानकारी पठाएका छौँ,’ उनले भने, ‘यसबाहेक बर्खा नसकिएसम्म केही गर्न सकिने अवस्था नै रहेन ।’
अस्थायी टहरामा बसेर काखेशिशुलाई दूध खुवाउँदै पीडित सुनिता चेपाङ । from. echitwanpost

प्रतिक्रिया दिनुहोस !