मलङ्गवा । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिनुभयो ।

गए राति करिब १२ बजे घरबाट निस्किेकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिनुभयो । महिलाको मानसिक सन्तुलन ठिक नभएको उहाँले जानकारी दिनुभयो ।

राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर आई नपुगेको प्रहरीले जनाएको छ । उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

तीनै जनाको शव पोखरीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवामा ल्याउने काम भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । आत्महत्या हो वा हत्या भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस !