काठमाडौँ । कोरोना महामारी अगाडी नेपाल आएका विदेशी पर्यटक तथा विदेशका कला पारखीबीच लाखौंको हस्तकलाका सामाग्रीको बजार थियो। ठमेल भक्तपुर बसन्तपुर लगायतका हस्तकला व्यापारी कामदारको हम्मेसी फोन उठ्दैन थियो।

यसले उनिहरुको व्यस्तता झल्काथ्यो तर विश्वव्यापी महामारी कोभिड–१९ का कारण पर्यटन व्यवसाय ठप्प भएपछि यो व्यवसाय लगभग ठप्प हुन पुगेको छ। दुई दशकदेखि हस्तकलाका सामाग्री विक्रिवितरणमा संलग्न व्यवसायी आकास बञ्जाराका अनुसार यो महामारीमा उनको व्यापार १० प्रतिशतमा सिमित भएको छ । यसैत नेपाली हस्तकला व्यापार उतारचढाव पूर्ण छ । आर्थिक वर्ष २०७३/०७४ को कुल निर्यात ५ अर्ब ३९ करोड थियो । आव २०७४/०७५ मा त्योभन्दा १८ करोड कम अर्थात् ५ अर्ब २१ करोड बराबरको हस्तकलाका सामग्री नेपालबाट निर्यात भएको भन्सार विभागको विवरणमा देखिन्छ ।

गत वर्ष थोरै बढेर ५ अर्ब ३७ करोड रुपैयाँ बराबरको हस्तकलाका वस्तु निर्यात भएको छ । कोरोना र लकडाउनका कारण हस्तकलाको निर्यात १० प्रतिशतमा ओर्लिएको नेपाल हस्तकला महासंघले बताएको छ । कोभिडले गर्दा विश्व बजार र ग्लोबल कनेक्टिभिटी नै ठप्प हुने भयावह अवस्था सिर्जना हुँदा २२ देशमा निर्यात हुँदै आएको हस्तकलाको अर्बौंको व्यापार प्रभावित भएको हो ।

सिंगो हस्तकला व्यवसाय नै अहिले शून्यमा पुगेको छ। दर्जनौं देशमा हस्तकला निर्यात गर्दै आएका प्राईम इन्कर्पोरेटका निर्देशक नविन घिमिरेका अनुसार नेपालमा विदेशी पर्यटकलाई लक्षित गरेर दशौं हजार पसल सञ्चालनमा छन्। घिमिरे संलग्न रहेको प्राइम क्राफ्ट नेपालले आफ्नो उत्पादन तथा नेपाली कलाकर्मीबाट उत्पादीत हस्तकलाका सामाग्री विभिन्न देशमा निर्यात गर्दै आएको छ, उनको कम्पनीले प्रत्यक्ष/अपत्यक्ष गरी २ सय भन्दा बढिलाई रोजगार दिएको छ । अमेरीकामा हस्तकलाको व्यापार गर्ने तथा प्राईम क्राफ्टकै अर्का सञ्चालक नारायण भट्टले हप्ताको एकपटक अमेरिका सामान निर्यात गर्थे भने यो महामारीको एक वर्षमा मुस्किलले ५ पटक सामान लगेका छन् ।

नेपाल आउने पर्यटकले नेपालको चिनो स्वरूप हस्तकलाका सामग्री किनेर लैजाने गर्थे। नेपालका पर्यटकिय र ऐतिहासिक क्षेत्रमा विदेशीलाई हस्तकलाका सामग्री बेचेर धेरैको रोजीरोटी जुट्थ्यो। खासगरी भक्तपुर, पाटन, वसन्तपुर, ठमेल, दरबारमार्ग, बौद्ध र स्वयम्भू जस्ता काठमाडौं उपत्यकाका पर्यटकिय क्षेत्रमा धेरै नेपालीले हस्तकलाका सामाग्री बेचेर आफ्नो जिविका चलाउँदै आएका थिए। तर महामारीका कारण पर्यटन व्यवसाय ठप्प भएपछि हस्तकला बजार पनि मन्दीमा पुगेको छ। नेपाल हस्तकला महासंघले काष्ठकला, धातुकला, उनी, पश्मिना र हातेकागजलाई हस्तकला उद्योगमा समावेश गरेको छ। गत वर्ष यी सबै क्षेत्रका गरी चार हजार उद्योग दर्ता भएका थिए। यी उद्योगहरुमा देशभर प्रत्यक्ष र अप्रत्यक्ष गरी ११ लाख श्रमिक आबद्ध भएको अनुमान गरिएको छ। हस्तकला व्यवसाय ठप्प हुँदा यी सबैको दैनिक आम्दानी गुमेको छ। हस्तकला व्यवसाय ठप्प हुँदा एकातिर यसमा आबद्ध व्यवसायी र श्रमिकको जिविका ठप्प भएको छ भने अर्कोतिर नेपालबाट निर्यात पनि घटेको छ। महासंघका अनुसार गत वर्ष नेपालबाट १० अर्ब रूपैयाँ बराबरको हस्तकलाका सामग्री विदेश निर्यात भएका थिए।

त्यस्तै नेपाल घुम्न आएका पर्यटकले त्यति नै रकम बराबरको हस्तकला सामग्री लगेका थिए। नेपालमा उत्पादित हस्तकलाका सामाग्रीहरुको प्रमुख गन्तव्य युरोप, अमेरिका, चीन, जापान यतिबेला महामारीसँग लडिरहेका छन्। त्यसैले निर्यात समेत बन्द छ। महामारीपछि यो मन्दी तुलनात्मक रूपमा कम भए पनि विदेशी बजार भने खस्किने आकलन व्यवसायीको छ।

नेपाली हस्तकलाको प्रमुख बजार युरोप र अमेरिका आफै महामारीका कारण संकटबाट गुज्रिरहेकाले बजार खस्किने व्यवसायीको अनुमान छ। जापान र अमेरिकामा सानो परिमाणमा कार्गोमार्फत निर्यात भएको बाहेक लकडाउनयता हस्तकलाका उत्पादनको निर्यात व्यापार बन्द छ । नियमित मात्र नभएर चार्टरबाहेकका कार्गो उडानसमेत निषेध गरेपछि लकडाउनबीच कार्गोको शुल्क समेत तीन गुणा बढेकाले हाल निर्यात असहज छ । लकडाउनले कार्गो चार्ज तीन गुणासम्म बढेकाले सामान अर्डर भए पनि पठाउन नसक्ने अवस्था छ । यसैले अत्यावश्यक सामान मात्र निर्यात भईरहेको व्यवसायी बताउँछन् ।

कोरोना महामारी मत्थर भएपछि पनी मानिसको आश्यकताको सूचिमा हस्तकला पुछारमा पर्नेछ, आगामी एक वर्षसम्म नेपाल घुम्न आउने पर्यटकको संख्या न्यून हुनेछ। त्यसैले घुम्न आउने विदेशीहरुले पहिलाको जस्तै सामान किन्ने अवस्था पनि रहँदैन। सोहीकारण, हस्तकलाका सामाग्रीको अर्बौ रूपैयाँको बजार कोरोनाका कारण गुमेको व्यवसायीहरुको भनाइ छ। उचित विकल्प सिर्जना गर्न नसके अर्बौ रूपैयाँको लगानी भइसकेको र लाखौंले रोजगारी पाएको उद्योग संकटमा पर्ने र धेरैको रोजगारी गुम्ने उद्योगीहरुको साझा भनाइ छ। बेलैमा यसको समाधानार्थ सरकारले यो क्षेत्रमा अनुदान तथा व्यवसायी संरक्षणका आवश्यक कदम चाल्नुपर्ने देखिन्छ। नेपाली हस्तकला भनेर भारत र चीनमा निर्मित सस्ता र न्यून गुणस्तरका सामानले नेपाली ब्राण्डमा तेस्रो मुलुक प्रठारी हुदाँ व्यवसाय खस्केको बताईन्छ ।

सामान्य ग्राहकका लागि कुन वस्तु कहाँ बनेको भन्ने छुट्याउनै कठिन हुन्छ । नेपाली उत्पादनको ट्रेड मार्क र बारकोड नहुनुले विदेशीले फाइदा उठाएको व्यवसायी आकाश बञ्जारा बताउँछन् । सरकारले व्यवसायिक सीपमुलक तालिमसहित आफ्नो उत्पादनको प्रवद्र्धनमा काम गर्न जरुरी भएको उनको भनाइ छ । व्यवसायी बञ्जाराकै प्रेरणामा प्राईम क्राफ्टले नेपालमा गुणस्तरीय सामान निर्माण गर्ने तथा गरिब तथा विपन्न बर्गलाई हस्तकलाका सीप सिकाएर आत्मनिर्भर बनाउने महत्वकाक्षी योजनामा अगाडि बढिरहदा कोरोनाले व्यवधान खडा गरेको व्यवसायी बन्जाराको दावी छ ।

प्रतिक्रिया दिनुहोस !