काठमाडौं। असार २९ मा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोरोना महामारीको यो संकटका बेला स्वास्थ्यमन्त्री काँग्रेस नेता गगन थापालाई बनाउनुपर्ने भन्दै सामाजिक सञ्जालहरुमा बहस भयो। २९ गते देउवा सरकारले स्वास्थ्यमन्त्री पाएन। प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसँग राखे।

विश्वलाई नै आक्रान्त बनाएको कोरोनाका कारण देशमा ठूलो जनधनको क्षति भएको छ। कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरमा हजारौं नेपालीले ज्यान गुमाए। लाखौं संक्रमित भए। निषेधाज्ञाका कारण जनजीवन ठप्प बन्यो। अहिले पनि दैनिक दुईहजारभन्दा धेरै नयाँ संक्रमित फेला पर्ने गरेका छन् भने दुई दर्जनको मृत्यु हुने गरेको छ। आर्थिक क्षतिको हिसाब हुन सकेकै छैन। यस्तो बेला देउवाले कसलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन्छन् भन्ने सबैको चासो थियो।

आइतबार बिहानैबाट प्रधानमन्त्री देउवाले एकजनामात्र मन्त्री नियुक्त गर्ने र त्यो पनि स्वास्थ्य मन्त्रालयमा भन्ने चर्चा शुरु भयो। आइतबाट मध्यान्न राष्ट्रपति कार्यालयबाट स्वास्थ्य राज्यमन्त्री नियुक्त भएको विज्ञप्ति जारी भएपछि त्यहाँ रहेको नामले भने देउवा सरकारप्रति आशा राखेकाहरुलाई निराश बनाएको सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाले संकेत गरेको छ।

निजी विद्यालयका सञ्चालक व्यापारी उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री बनेका छन्। देउवा सरकार गठन भएको १० दिनपछि स्वास्थ्य मन्त्रालयले राजनीतिक नियुक्त पाउँदा एक त पूर्णमन्त्री पाएन। त्यसमाथि विवादास्पद छविका व्यक्ति मन्त्री बन्न पुगे। श्रेष्ठ काँग्रेसलाई ठूलो रकम चन्दा दिएको भरमा समानुपातिक सांसद भएको चर्चा काँग्रेस भित्रै छ। यसरी एक राजीतिकर्मीभन्दा व्यापारीलाई कोरोना महामारीको संकटको बेला स्वास्थ्य मन्त्रालयलको जिम्मेवारी दिएपछि देउवा सरकारको आलोचना शुरु भएको छ।

सामाजिक सञ्जालहरुमा नवनियुक्त राज्यमन्त्रीलाई बधाईभन्दा धेरै आलोचना गरिएको छ। गगन थापा स्वास्थ्यमन्त्री हुँदा अवैतनिक सल्लाहाकारको भूमिका निर्वाह गरेका चिकित्सक रामेश कोइरालाले ट्वीटरमा एक हातले बनाएको कुकुरको तस्वीरसँगै देउवालाई मेन्सन गर्दै लेखेका छन्, ‘ढुङ्ग्रामा हाल्या बल्ल त साढेतीन वर्ष भो। के सिधा हुन्थ्यो र ?’

कोइरालामात्र होइन पत्रकार गोविन्द अधिकारीले पनि ट्वीटरमार्फत आलोचना गरेका छन्। उनले लेखेका छन्, ‘एउटै निर्णयले कति फरक हुन्थ्यो जनधाराणामा– उमेशको साटो गगनलाई मन्त्री बनाए।’

अर्का पत्रकार नकुल अर्यालले फेसबुकमार्फत व्यंग्य मिश्रित शुभकामना दिएका छन् नवनियुक्त मन्त्रीलाई। उनले लेखेका छन्, ‘२–४ करोड कमिसनका लागि स्वास्थ्यसामाग्री र खोप खरीदमा अनियमितता गर्ने कथित सर्वहारा भन्दा २०(४० करोडको सुर्ता नहुने ‘व्यापारी’ मन्त्री हुनु राम्रो हो। आफ्ना स्वार्थ नबाँझिने गरि जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनुहोस्, स्वास्थ्य राज्यमन्त्रीलाई शुभकामना।’

उता नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका रामप्रसाद सापकोटा दिपशिखाले पनि श्रेष्ठलाई मन्त्री बनाएकोमा आलोचना गरेका छन्। उनले ट्वीटरमार्फत देउवा सरकारले बिहानीमार्फत संकेत गरेको भन्दै आगामी दिनहरु पनि सुखद् नहुने भनेका छन्।

सामाजिक सञ्जालमा आलोचना गरिएका यी अन्तिम पोस्ट भने होइनन्। सयौं पोस्टहरु आलोचनामा भइरहेका छन्। यसरी आलोचना गर्नेहरु विपक्षी एमाले सम्द्धभन्दा सत्तारुढ गठबन्धन निकट नै धेरै छन्। from. dcnepal

प्रतिक्रिया दिनुहोस !