काठमाडौं । टोकियो ओलम्पिक्सको पहिलो स्वर्ण पदक चिनियाँ एअर राइफल शुटर याङ चीयानले जितेकी छन्। उनले १० मिटर एअर राइफल शुटिङ प्रतिस्पर्धामा स्वर्ण पदक पाएकी हुन्।

उद्घाटन समारोहकै दिन फेन्सिङ, जुडो र भारोत्तोलन सहित १० अरू खेल प्रतिस्पर्धा भएका थिए।

आयोजकहरूले यो खेल प्रतिस्पर्धाले जापानी सर्वसाधारणमा उत्साह जगाउने र महामारीका बेला आयोजना खेल प्रतिस्पर्धा आयोजना गर्न लागिएका कारण उत्पन्न तनाव हटाउने आशा राखेका छन्।

उद्घाटनको दोस्रो दिन नेपाली खेलाडीहरू कल्पना परियार र सोनिया भट्टले खेल्ने मौका पाएका थिए।

टोकियो ओलम्पिक २०२० को खेलमा शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पराजित भएका छन्। तर शुटिङकी कल्पना परियारले नयाँ राष्ट्रिय कीर्तिमान बनाएर आफ्नो लक्ष्य पूरा गरेकी छिन्।

महिला १० मिटर एयर राइफल इभेन्ट्समा प्रतिस्पर्धा गरेकी उनले प्रारम्भिक चरणमा ६सय १६.८ स्कोर गर्दै आफैले बनाएको कीर्तिमान तोडेकी हुन्। उनले यसअघि नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ६ सय १४.५ स्कोर गर्दै कीर्तिमान रचेकी थिइन्।

टोकियो ओलम्पिक्सको ओशाका शुटिङ रेञ्जमा भएको प्रतिस्पर्धामा उनी समग्रमा ४६ औँ स्थान रहँदै प्रतियोगिताबाट बाहिरिइन्।

कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१, चौथोमा १०४.१, पाँचौँमा १०३.४ र अन्तिम सिरिजमा १००.७ स्कोर जोडेकी थिइन्।

प्रारम्भिक चरणमा शीर्ष आठ स्थानमा रहेका खेलाडीले मात्र अन्तिम चरणमा प्रवेश गरेका छन्। महिला ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी जुडोकी सोनिया भट्ट रसियाकी इरिना डोल्गोभासँग पराजित भएकी हुन्।

इरिनासँग सोनिया १ मिनेट १६ सेकेन्डसम्म मात्र टिक्न सकिन्। इरिनाले इप्पन जोड्दै सोनियालाई पराजित गरिन् ।

प्रतियोगिताको नियम अनुसार अब यदि इरिना फाइनलमा पुगिन् भने सोनियाले रेपचेज अर्थात् उत्कृष्ट खेलाडीसँग हारेमा कांस्य पदकका लागि खेल्न पाउने मौकामा फेरि खेल्न पाउनेछिन्।

कल्पना र सोनिया दुवै वाइल्ड कार्ड पाएर ओलिम्पिकमा सहभागी भएका हुन्।

ओलम्पिकमा अब नेपालबाट दुई पौडी खेलाडी र एथलेटिक्सको एउटा खेल खेल्न बाँकी छ। एथलेटिक्स टोली आज शनिवारमात्र जापान प्रस्थान गरेको छ।

प्रतिक्रिया दिनुहोस !