फैसलाबारे प्राज्ञिक बहस हुन जरुरी छ !

काठमाडौं । राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले सर्वोच्च अदालतको फैसलामा रमाउँदै आज सत्तारोहण गर्नेहरूले भोलि एमालेको ढोकामा आएर त्यो फैसला बेठिक थियो भन्ने दिन अवश्य आउने दाबी गरेकी छिन् ।

आज शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा उनले सर्वोच्च अदालतले गरेको पछिल्लो फैसला दलीय हितविपरीत भएको भन्दै फैसलाबाट रमाउनेहरू आउँदा दिनमा पछुताउने टिप्पणी गरेकी हुन् । ‘यो गरिमाय सदन हो । यहाँ बोलिएका कुरा रेकर्ड हुन्छ र पुस्तौंपुस्ताले सुन्न सक्छन्,’ नौपानेले सर्वोच्च अदालतको फैसला बेठिक भएको तर्क गर्दै भनिन्, ‘त्यसैले म दाबीका साथ भन्न चाहान्छु, हामी सत्य कुरा बोल्छौं । हामीले आज बोलेका कुरा इतिहास र समयले पुष्टि गर्ने छ, यो सत्य थियो भनेर ।’

केही समयअघि सत्ताको विरोध गर्दै सडकमा पुगेकाहरूले सर्वोच्च अदालतबाट आफूअनुकुल फैसला नआए फैसला अस्वीकार गर्दै न्यायाधीशहरूलाई सडकमा ल्याएर पछार्ने चेतावनी दिएको स्मरण गर्दै उनले भनिन्, ‘एमालेले सर्वोच्चको फैसला मान्दैनौं भनेन, हामीले अदालतको फैसलालाई सम्मान गर्यौं तर, असहमति राख्यौं । हामी राख्छौं, हामी भन्छौं गलत छ अदालतको फैसला । यो कुरा हामी आज पनि भन्छौं, भोलि पनि भन्छौं यो प्रमाणित हुन्छ ।’

‘आज तँलाई खाने बाघले भोलि मलाई खाँदैन भन्ने नसोचियोस्, तँलाई खाने बाघले मलाई पनि खान्छ भन्ने कुराको हेक्का गरियोस्,’ उनले अगाडि भनिन्, ‘म चुनौती दिन चाहान्छु । आज चर्को भाषण गर्नेहरु, निर्दलीयता लाद्न अदालतले जे गर्यो ठिक गर्यो भन्नेहरू भोलि एमालेको ढोकामा आएर त्यो फैसला बेठिक थियो भनेर भन्नुपर्ने हुन्छ ।’

संसारमा कतै पनि सर्वोच्च अदालतले सिधै प्रधानमन्त्री नियुक्त गरेको इतिहास नभएको बताउँदै उनले सर्वोच्चको फैसला बेठिक र निर्दलीय चरित्रको भएको जिकिर गरेकी छिन् ।

सांसदहरूलाई दलको ह्वीप नलाग्ने फैसलाले नेपाली राजनीतिमा दूरगामी असर पार्ने बताउँदै उनले यो फैसला अनिष्टको सङ्केत भएको दाबी समेत गरेकी छिन् । ‘फैसलाबारे प्राज्ञिक बहस हुन जरुरी छ, हामी नागरिकको बीचमा पुर्याउँछौं, जनताको बीचमा पुर्याउँछौं अदालतको फैसला बेठिक छ,’ उनले भनिन् ।

यसअघि संघीय लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि राजनीतिक दलहरूबीच विभिन्न समयमा समीकरणहरू बनेका भए पनि अहिले बनेको समीकरण केवल सत्तामा पुग्नका लागि मात्रै भएको पनि उनले बताएकी छिन् । सत्ताको फोहोरी खेल खेल्दै व्यवस्थालाई कुरुप बनाउने मनसायका साथ अहिलेको समीकरण बनेको उनको दाबी छ ।

www.facebook.com/100002478602971/videos/221939906474962/

प्रतिक्रिया दिनुहोस !