काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको सभाकक्षमा अपरान्ह ३ बजे बैठक बस्ने छ ।

आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिने माधव नेपालसहित २२ जना सांसदमाथि कार्वाहीको बिषयमा बिशेष छलफल हुने बताइएको छ । यही कामका लागि पार्टीहित विपरित काम गर्ने नेता, कार्यकर्ताहरुलाई अनुशासनको कारवाही, शुद्धिकरणदेखि निष्काशनसम्मको विषयलाई एजेण्डा बनाइएको छ ।

यसअघि गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकबाट लिनुभएको विश्वासको मतमा पार्टीको निर्देशन विपरित प्रधानमन्त्री देउवालाई मतदान गर्ने माधव नेपालसहित २२ सांसदहरुलाई स्पष्टीकरण सोधिएकाले २४ घण्टा पुगेका सदस्यको कारवाहीबारेमा पनि आवश्यक निर्णय हुने बताइएको छ । स्पष्टीकरणपत्र प्राप्त भएको समयदेखि २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ नबुझाउने वा चित्तबुझ्दो जवाफ नभएमा पार्टी विधानअनुसार कारवाही गर्ने एमालेको तयारी छ ।

एमालेको जारी बैठकमा चारवटा एजेण्डामाथि छलफल हुन बाँकी छ । आज चारवटै एजेण्डामाथि छलफल जारी रहने छ । छलफल हुन बाँकी एजेण्डाहरुमा सर्वोच्च अदालतको फैसला सम्बन्धमा पार्टीको दृष्टिकोण बनाउन बाँकी छ । आजको बैठकले सो दृष्टिकोण बनाउनेबारे छलफल गर्नेछ । सोहीअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका बारेमा समीक्षा गर्ने एजेण्डामाथि पनि आज छलफल हुनेछ । तीन वर्षबढी चलेको एमाले नेतृत्वको सरकारका बारेमा समीक्षा गरी धारणा सार्वजनिक गर्ने योजना एमालेको छ । यस्तै पार्टीको आगामी भूमिकाका बारे पनि छलफल हुने नेताहरुले जनाएका छन ।

त्यस्तै, संगठनात्मक भूमिका अन्तर्गत पार्टी सदस्यता नवीकरण, विधान महाधिवेशन, जनसंगठन व्यवस्थापनका विषय पनि छलफलका एजेण्डा रहेका छन । एमालेले साउन २५ गते विधान महाधिवेशनको मिति तय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस !