चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ५, चौकी डाडामा रहेको एक घरमा गए राती आगोलागी भएको छ । स्थानिय भाइजी झाको घरमा आगोलागी भएको हो। राती २ बजेबाट सुरु भएको आगोलागीबाट घर पूर्ण रुपमा क्षति भए पनि अन्य मानविय क्षति भने नभएको एक स्थानियले बताए ।

रातको समय भएकाले सामानहरु सुरक्षित स्थानमा सारेर पनि बचाउन नसकेको र सबै सामानहरु जलेर नष्ट भएको आगोलागी पिडित भाइजी झाले बताए । घरभित्र रहेको आवश्यक कागजपत्र, कामबाट कमाएर घर भित्र सुरक्षित राखेको २५ हजार रुपैया लगायत लत्ताकपडा तथा खाद्यान्नका सामानहरु सबै जलेर नष्ट भएको  झाले बताए । दमकल, प्रहरी र स्थानियबासीले आगो नियन्त्रण गर्ने प्रयास गरेतापनि आगोलागीबाट सामानहरू पूर्ण रूपमा क्षति भएको छ । विद्युत सर्ट भएर आगोलागी भएको हुनसक्ने इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !