काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक शुरु भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक शुरु भएको हो । यसअघि शुक्रबार पनि एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले एमालेको भूमिका प्रतिपक्षका रुपमा हुने र सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।

भोलि बस्ने एमाले केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा तय गर्न सो बैठक बसेको हो । यद्यपि प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा आजै विश्वासको मत लिने भएसँगै समसामयिक राजनीति र रणनीतिको विषयमा पनि छलफल हुने बताइएको छ ।

यसअघि तय भएको केन्द्रीय कमिटी बैठक पार्टी एकताका लागि प्रयास गर्ने भन्दै रोकिएको थियो । सोही बैठक भोलि बस्न लागेको हो ।

आगामी केन्द्रीय कमिटी बैठकले दश बुँदे सम्झौतालाई अनुमोदन गर्दै देउवा सरकारलाई विश्वासको मत नदिन सबै सांसदलाई निर्देशन दिने सम्भावना छ ।

तर, माधव नेपालले विश्वासको मत दिने बताइसकेको र आजै विश्वासको मत लिने कार्यक्रम भएकाले आजको घटनालाई हेरेर भोलिको बैठकमा छलफल हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस !