काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसद अधिवेशन चाँडै अन्त्य गरेर अध्यादेशमार्फत एमाले विभाजन गर्ने षडयन्त्र भइरहेको बताएका छन् ।

शुक्रबार बसेकाे संसदीय दलको बैठकमा पछिल्लो समसामयिक अवस्थाबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध अझ धेरै षडयन्त्र हुनसक्ने भएकाले सचेत हुनुपर्ने बताए ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलास गठनकै बेलादेखि फैसलाको पूर्वाभ्यास भइसकेको समेत बताए । ओलीले रिट निवेदक देउवा पक्ष र नेपाल बार एशोसियनको दबाबमा संवैधानिक इजलास हेरफेर र गठन भएदेखि नै षडयन्त्रको आभास आफूले पाएको बताए ।

बैठकमा बाेल्दै ओलीले वर्तमान सरकारलाई समर्थन गर्न नसक्ने बताए । सरकारलाई समर्थन गर्न सकिन्छ भन्नेहरुको धारणा व्यक्तिगत हो,’ उनले भने । शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले पनि सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । एमालेले रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने र सरकारलाई जनहितविरुद्ध काम गर्न नदिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस !