काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि आगामी बुधवार (यही साउन ६ गते) जहाज चीनतर्फ जाने भएको छ । चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधवार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो । यसअघि असार ३१ गते चीन जाने भनेता पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो ।

निगमका अपरेसन विभाग प्रमुख दीपुराज ज्युहार्चनले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने जानकारी दिनुभयो । उहाँका अनुसार चीनसँग खरिद गरिएका खोप लिन यही साउन ६ गते पौनै ६ः०० बजे गएर अर्को दिन अर्थात् साउन ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ ।

यस्तै साउन ७ गते पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ । चीन सरकारसँग ननडिस्क्लोलर सम्झौताअनुसार सरकार ‘भेरोसेल’ खोप खरिद गरेर ल्याउन थालेको हो । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । सरकारले चीनबाट खोप ल्याएपछि नियमितरुपमा खोप अभियान पनि सञ्चालन गरिरहेको छ ।

यसै गरी सरकारले खरिद गर्नेबाहेक कोभ्याक्स सुविधामार्फत पनि सरकारले खोप ल्याइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धताअनुसार खोप आइरहेको जानकारी दिनुभयो । सरकारले असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग प्राप्त गरेको हो । यसअघि कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप भारतबाट प्राप्त भएको थियो ।

यस्तै जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।

यसै गरी स्वास्थ्य सेवा विभागका खोप तथा बाल स्वास्थ्य शाखाका प्रमुख डा झलक शर्मा गौतमले कोभ्याक्समार्फत थप खोप आउन थालेको जानकारी दिनुभयो । कोभ्याक्समार्फत तीन लाख ५० हजार खोप आउन थालेको हो । सरकारले चीन र अमेरिकाले उपलब्ध गराएको खोप प्राथमिकताका आधारमा लगाइरहेको छ ।

असार २९ देखि यही साउन २ गतेसम्म मुलुकभरि नै खोप लगाउन थालिएको हो । भेरोसेल ५५ वर्ष र सोमाथिका उमेर समूह तथा जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई लगाइँदै छ । सरकारले १८ वर्षभन्दा माथिका कूल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।

नेपालमा अहिलेसम्म पहिलो मात्रा २६ लाख २१ हजार ४७६ र दोस्रो मात्रा ११ लाख आठ हजार ८६८ ले लगाइसकेका छन् । नेपालमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस !