हेटौंडा । विपक्षी दलहरुले उठाएका विषयमाथि मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिएपछि बागमती प्रदेशसभाको अवरोध हटेको छ ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ मा स्थापना गर्ने भनेको सरकारी आमसञ्चार गृह रेडियो टेलिभिजन नभई छपाइ कार्य गर्ने छापाखाना भएको स्पष्ट पारेसँगै बैठकको अवरोध हटेको हो । आज आइतबार बसेको प्रदेशसभा बैठकमा विपक्षी दलहरुले उठाएका विषयमाथि पौडेलले जवाफ दिएका हुन् ।

उनले आमसञ्चार गृह सञ्चालनको योजना विगतका वर्षहरुको निरन्तरता रहेको भन्दै उक्त योजना अनुसार सञ्चार गृह सञ्चालन गर्ने विषय नभई प्रदेश सरकारका छपाईका सम्पूर्णका काम गर्ने गृह भएको प्रष्ट पारेका छन् ।

उनले प्रदेश सरकारको करोडौँ रकम छपाईसम्बन्धी काममा खर्च हुने देखिएकाले उक्त खर्च कटौती गर्न प्रदेश सरकारले सो शीर्षकमा छापाखाना सञ्चालनको लागि १० करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् ।

विपक्षी दलहरुले प्रेस स्वतन्त्रतामाथि नै हमला हुने भएको भन्दै उक्त विषयमा विरोध गरेपछि मुख्यमन्त्री पौडेलले आमसञ्चार गृह स्थापनाको योजना रेडियो टेलिभिजन नभई छापाखाना भएको भन्दै आज जवाफ दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस !