काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ को अन्त्यसम्ममा सबै नेपालीलाई कोभिड विरुद्धको भ्याक्सिन लगाइसक्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।

वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड केन्द्रिय अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको थप खोप आपूर्तिका लागि विभिन्न देशहरूसँग संवाद र सम्झौता जारी राखेकाले खोपको आपूर्ति अब निरन्तर हुने बताउनुभयो ।

उहाँले कोरोना विरुद्धको भ्याक्सिन नपाएर अब कोही नेपाली पनि तड्पिन नपर्ने भन्नुहुँदै सबै नेपालीलाई जतिसक्दो चाँडो खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनताको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम गरेका कारण स्वास्थ्य सुविधाको न्यूनतम उपलब्धताका बाबजुद महामारी नियन्त्रणमा धेरै हदसम्म सफल भएको बताउनुभयो ।

उहाँले, कोभिडलाई पूर्ण रुपमा हराउन स्वास्थ्य सजगता पालना गर्न सबैमा आग्रह समेत गर्नुभयो ।

नवनिर्मित कोभिड अस्पतालको अधिकतम उपयोग गर्ने र यसबाट जनताले पूर्ण रुपमा सेवा पाउनेमा विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले अस्पतालको क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा कोभिड–१९ युनिफाइड केन्द्रिय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत प्राध्यापक डा.जागेश्वर गौतमले नयाँ भवनले कोभिड–१९ विरुद्धको लडाइ जित्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !