डोटी ।  सुदूरपश्चिम प्रदेशको कला र संस्कृतिको पहिचान दिने दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको पाइएको छ । यहाँ भित्रिएको ब्याण्ड बाजाका कारण सुदूरपश्चिम प्रदेशमा दमाहा बाजा सङ्कटमा पर्दै गएको स्थानीयको भनाइ छ ।

विवाह, ब्रतबन्ध, न्वारन तथा विभिन्न देवी देउताको पूजाआजाका बेला अनिवार्यरुपमा बजाउनुपर्ने प्रचलन रही आएको यहाँको दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको पाइएको हो । दमाहा बाजाको छुट्टै महत्व रही आएको भए पनि यसको प्रयोगमा युवापुस्ताले चासो नदिँदा दमाहा बजाउने पेशा पनि सङ्कटमा पर्न थालेको जोरायल गाउँपालिका–५ का स्थानीयवासी दीर्घबहादुर बोगटीले बताउनुभयो । “बजारमा आधुनिक बाजा आएपछि युवापुस्ताले दमाहा बजाउन खासै चासो देखाएनन्”, उहाँले भन्नुभयो, “हिजोआज यो बाजाको प्रचलन नगण्य मात्रामा मात्र देखिने गरेको छ ।” जिल्लाका ग्रामीण क्षेत्रमा बढी प्रयोग हुने यो दमाहा बाजा पछिल्लो समय गाउँघरबाटसमेत क्रमिकरुपमा लोप हुने अवस्थामा पुगेको बताइएको छ ।

सुदूरपश्चिम क्षेत्र कला–संस्कृतिमा धनी छ । त्यसैले यस प्रदेशले आफ्नो मौलिक कला र संस्कृति जोगाउने प्रयत्नलाई जारी नैै राखेको भए पनि पछिल्लो समय दमाहा बाजा भने क्रमिकरुपमा लोप हुने अवस्थामा पुगेको यहाँका ज्येष्ठ नागरिक बताउनुहुन्छ ।

सुदूरपश्चिमका नेपाली ९ढोली० थरका व्यक्तिले मात्रै उक्त बाजा बजाउने चलन परापूर्वकालदेखि चल्दै आएको छ । यो बाजा निर्माण गर्ने काम लुहार तथा सजाउने ९बखर्ने० काम भने सार्की थरका व्यक्तिले गर्ने परम्परा रहेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाहका शङ्कर नेपालीले बताउनुभयो ।

यस समुदायका युवा अहिले भने यो बाजा बजाउने पेशातर्फ आकर्षित छैनन् । जसका कारण दमाहा बाजा नै हराएर लोपोन्मुख अवस्थामा पुग्न थालेको केआइसिंह गाउँपालिका–५ का स्थानीयवासी जयराज जोशीले बताउनुभयो । “दमाहा बाजा संरक्षण नगरिए चाँडै लोप हुने देखिन्छ”, उहाँले भन्नुभयो, “यसलाई लोप हुनबाट जोगाउनुपर्ने उहाँको धारणा छ ।”

बाह्य संस्कृति भित्रिँदै र स्थानीय कलासंस्कृति लोप हुँदै गरेको यस अवस्थामा नयाँ पुस्तालाई जानकारी गराउनका लागि पनि समयसमयमा स्थानीय कलासंस्कृति झल्किने कार्यक्रम एवं मेला–महोत्सवमा दमाहा बाजा बजाउने र यससम्बन्धी सीप सिकाउने कार्यक्रको आयोजना गर्नुपर्ने डोटीका गायक तथा कलाकार सूर्यविरही साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाहिरी कला संस्कृति भित्र्याउनुभन्दा आफ्नै संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने सन्देश अहिलेको पुस्तालाई दिनुपर्छ ।” दमाहा बाजा बजाउने समुदायका युवापुस्ता भने दमाहा या पञ्चे बाजामा प्रतिष्ठा, पारिश्रमिक र भविष्य नदेखेको बताउँछन् । स्थानीयस्तरमा पञ्चेबाजा बजाएर भोलिको भविष्य नभएका कारण संस्कृतिलाई निरन्तरता दिन नसकिएको उनीहरु बताउँछन् । आधुनिक बाजा भित्रिएका कारण आफूहरुले पुर्खौंदेखि बजाउँदै आएको दमाहा बाजा लोप हुने अवस्थामा पुगेको जोरायल गाउपालिका–५ का दमाहा बाजा बजाउने धनीराम नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “जमाना नै आधुनिक बाजाको पछि लाग्यो, हाम्रो बाजा कसैले मगाउँदैनन्, बाजा नै सङ्कटमा पर्दै गएको छ ।”

पञ्चेबाजा बोलाए रु ४० देखि ५० हजार तथा साना बाजा बोलाए रु २० देखि २५ हजार लिने गरेको दिपायल राजपुरका अर्का स्थानीयवासी तेजबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य बाजाभन्दा हाम्रो बाजा सस्तो भए पनि संरक्षण नहुँदा समस्या भएको छ, सबै गाउँपालिकाले आफ्नो ठाउँमा भएका दमाहा बाजा संरक्षण गर्नु जरुरी भएको छ ।”

दमाहा बाजा नेपाली बाजा हो । यो बाजाको पिँधतिर सानो र मुखतिर फुकेको या ठूलो हुन्छ । तामाको भाँडोलाई भैँसीको छालाले मोहोरिएको बाजालाई सुदूरपश्चिम प्रदेशमा दमाहा नामले चिनिन्छ । यसलाई गजो अर्थात् लौरोले हानेर बजाइने गरिन्छ । यसलाई सानो खालको नगराका रूपमा पनि हेरिन्छ । यो पञ्चैबाजा समूहको ताल बाजाका रूपमा लिइन्छ । यसलाई प्रायः घाँटीमा झुण्ड्याएर बजाउने गरिन्छ ।

पानीले दुई दिनजति भिजाइएको दमाहा राम्रो बज्ने गरेको दमाहा बखर्ने अर्थात् दमाहामा छाला लगाउने गड्सेराका स्थानीयवासी जोगीसिंह सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “मरेको गोरुको छाला दुई दिन पानीमा भिजाएपछि छाला नरम हुन्छ र बर्खन सजिलो हुन्छ र आवाज पनि बढी आउछ ।”

सुदूरपश्चिममा हुने हरेक शुभकार्यलगायत अन्य कार्यक्रममा गाउँघर नै गुञ्जायमान हुनेगरी विभिन्न ताल र शैलीमा उक्त दमाहा बाजा बजाउने चलन रहेको दिपायलका स्थानीय तथा समाजसेवी घनश्याम पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जस्तोसुकै शुभकार्य गरे पनि दमाहा बाजा नभइकन हुँदैन यसको संरक्षण गर्नु जरुरी भएको छ ।”

सुदूरपश्चिम नेपालको कलासंस्कृतिसँग जोडिएको दमाहा बाजा र दमाहा बजासँगै जोडिएको नाच अहिले एकाध स्थानमा मात्र देख्न र बजेको सुन्न पाइन्छ । सुदूरपश्चिम नेपालका अधिकांश समुदायमा मन्दिरमा देवी देवाताको पूजापाठ गर्दा होस् अथवा विवाह, ब्रतबन्ध, न्वरान जस्ता शुभकार्य गर्दा दमाहा बाजा अनिवार्य बजाउनुपर्ने परम्परागत मान्यता रहेको छ ।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा सुदूरपश्चिमको कला संस्कृतिको पहिचान गराउने दमाहा बाजा लोप हुन थालेपछि यसको संरक्षण गर्ने अभियान शुरु गरेको बताउनुहुन्छ । यसबारेमा नयाँ पुस्तालाई जानकारी गराउनको लागि समयसमयमा स्थानीय कलासंस्कृति झल्किने मेला–महोत्सवको आयोजना गरी परम्परागत बाजा तथा नाचलाई प्रोत्साहन गरिनुपर्ने उद्योग बाणिज्य सङ्घ डोटीका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुराना कलासंस्कृति र यहाँका पुराना बाजाको निकै महत्व भएकाले सुदूरपश्चिम चिनाउने संस्कृति र बाजा संरक्षणमा हामी सबै जुट्नुपर्ने बेला आएको छ ।” दमाहा बाजाको तालमा नाचिने सुदूरपश्चिमका प्रसिद्ध नाच छलिया, ढुस्को, धमारी, चैतलगायतका मौलिक नाच पनि लोप हुने खतरा देखिएको छ । यी परम्परागत मौलिक सम्पदा र संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि स्थानीय सरकारले पनि पहल गर्नुपर्ने स्थानीयवासीको माग रहेको छ । बालिघरे प्रथाका रुपमा पहिले दमाहा बजाएवापत अनाज अर्थात् खाद्यान्न दिने परम्परा रहेको दिपायल राजपुरका ५० वर्षीय स्थानीय सन्तकुमार नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो पालामा दमाहा बजाएवापत अन्न लिने चलन थियो, अहिले ब्याण्ड बाजा भन्छन्, तालसुर केही हँुदैन तर चर्को स्वरमा बजाउँछन् र पैसा लिन्छन् ।” संस्कृतिविद् नन्दकृष्ण जोशीका अनुसार सुदूरपश्चिमका नौवटै जिल्लामा पञ्जेबाजमा सबैभन्दा बढी दमाहा बाजालाई महत्व दिने गरिएको छ । आदिकालमा भगवान् शिवले डमरुसँगै दमाहा बाजालाई पनि मन पराएपछि त्यतिबेलादेखि नै यसको प्रचलन बढेको किंवदन्ती रहेको जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !