सिन्धुपाल्चोक । मेलम्ची–ईन्द्रावती बाढी प्रभावितका लागि देश–विदेशबाट सहयोग जुटिरहेको छ । पीडाका बेला थोरै भए पनि राहत दिन सकिन्छ कि भन्ने प्रयत्न भइरहेको छ । यसैबीच दक्षिण कोरियामा बसोबास गर्ने नेपालीले रकम सङ्कलन गरी पठाएका छन् । हेलम्बु–४ कार्साङ तामाङले सहयोग सङ्कलन कार्यको संयोजन गरिरहनुभएको छ ।

उहाँ सात वर्षदेखि कोरियामा कार्यरत हुनुहुन्छ । सिन्धुपाल्चोक ‘समाज’ नाम दिइएको सो संस्थाले कुमार लामिछाने, सोमबहादुर तामाङमार्फत प्रत्यक्ष प्रभावितसम्म पुग्ने गरी नगद सहयोग हस्तान्तरण गरेको छ । तेर्से मावि, तालामाराङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीलबहादुर शाहीले सहयोग रकम रु ४० हजार लिँदै सबैको सहयोगले नै विद्यालय बचाउन सकिनेछ भन्नुभयो ।

प्रधानाध्यापक कृष्ण ढुङ्गानाले तारजाली लगाएर विद्यालय बचाउन लागेको जानकारी दिँदै यस कार्य खर्चिलो भएको हुँदा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
सरस्वती मावि, ग्यालथुमका प्रधानाध्यापक सीताराम ढकालले सहयोग रकम रु ४० हजार बुझ्दै नदीको कटानबाट विद्यालयलाई जोगाउन तुरुन्त लाग्नुपर्ने हुँदा सहयोगका लागि सबैमा आह्वान गर्नुभयो ।

इस्टपोइन्ट एकेडेमी पूर्णतः क्षति भएको हुँदा ५५० विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता भएका बेला नगद सहयोगले अस्थायी भवन निर्माणमा सहयोग पुग्ने प्रिन्सिपल दामोदर भारतीले बताउनुभयो । उहाँलाई पनि रु ४० हजार हस्तारण गरिएको हो । हेलम्बु गाउँपालिकाका बाढीमा परी परिवारका सदस्य गुमाएका १५ परिवारलाई रु दश÷दश हजार सहयोग गरिएको छ ।

नेपालमा रहेर सहयोग संयोजन गरिरहनुभएका कुमार लामिछाने र सोमबहादुर तामाङले सम्बन्धित विद्यालयमै पुगेर सहयोग हस्तारन्तरण गर्नुभएको हो । हस्तान्तरणका सिलसिलामा रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले जो जहाँ रहे पनि विपद्का बेला सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !