
शिशिर सिंखडा, चितवन । गत तीन दिन देखिको अविरल वर्षासँगै झरेको पहिरोका कारण नारायणगढ- मुग्लिन सडक खण्ड आज पनि अबरुद्ध नै रहेको छ । बर्षा सङै तीन दिन देखि निरन्तर खसेको पहिरोले आजपनि बाटो खुल्ने संभावना न्यून रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

बिगत ३ दिनदेखि नै अवरुद्ध मुग्लिन–नारायणगढ सडक हिजो साझ भने केहिबेर एकतर्फी संचालनमा ल्याउन सकिए पनि निरन्तर वर्षाका कारण दर्जनौ ठाँउमा पहिरो खसिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ । निरन्तर बर्षाका कारण पहिरो पन्छाउन समेत कठिनाई भइरहेको प्रहरीको भनाई छ ।

सो सडक खण्डको चारकिलो डाडाँ र पाँचकिलोमा खसेको पहिरो करिब १८ घण्टा पछि हिजो साँझ ७ बजेतिर एकतर्फी खुलाएपनि भरपुर २९ स्थित सेतिदोभानमा अर्को नयाँ ठूलो पहिरो खसेपछि पुनः सडक अवरुद्ध भएको हो।
अहिले उक्त सडकखण्ड पूर्ण रुपमा दुईतर्फी अवरुद्ध भएको छ भने सयौ सवारीसाधनहरु तथा हजारौं यात्रुहरु बिचमै अलपत्र परेका छन ।

यस्तै मुग्लिन–नारायणगढ सडक खण्डको चौधकिलो, सेती दोभान, पाँचकिलो, चारकिलो, घोप्टेभिर, जलबिरे तथा कुरिनटार, मौवाखोला क्षेत्रमा यतिबेला निरन्तर वर्षा सङै पहिरो खसेको छ । सो पहिरो पन्छाउन दर्जन भन्दा बढी एक्साभेटर र प्रहरी परिचालन गरिएपनि बाटो खुलाउन कठिनाई भएको चितवन प्रहरीले जनाएको छ ।







