
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीमा फर्किएको र एकताको पक्षमा रहेको बताएका छन् ।
बालुवाटारमा एमालेको केन्द्रीय कमिटीमा सम्बोधन गर्दै उनले आफू आइसकेको र अब नफर्किँने पनि स्पष्ट पारे । उनले अब पार्टीलाई एकता गराउँदै कम्युनिष्ट शक्तिहरुलाई समेत एक बनाउनुपर्ने धारणा राखे । उनले भने, ‘म तपाईंकोमा आइसकेँ, अब फर्किन्न ।’
उनले आजको आवश्यकता पार्टी एकता भएको बताउँदै आफूलाइ एकताका लागि जिम्मेवारी दिन समेत आग्रह गरे । उनले आफूले दिन नतोक्ने तर केही दिनभित्रै पार्टी एक हुने विश्वास पनि व्यक्त गरे ।
उनले भने, ‘एमालेपछि अन्य पार्टीसँग पनि एकता गर्छु । विश्वास गर्ने नगर्ने तपाईंको कुरा हो ।’
उनले अध्यक्षले समान व्यवहार देखाउनुपर्ने बताए । ‘अध्यक्ष भएपछि कसैको पक्ष विपक्षीमा हुनुहुँदैन । मैले पटक पटक भन्दै आएको अहिले पनि यही भन्छु,’ गौतमले भने ।
उनले आफूले सधैँ एकताकै गतिविधि गरेको पनि उनले जनाए । ‘जबज स्थापित गर्न ओलीजी, हामी मिलेर सङ्घर्ष गरेका हौँ । अब यसको रक्षा गर्न आवश्यक रहेको छ ।’
उपाध्यक्ष गौतमले बजेटबारे टिप्पणी गर्दै भने, ‘युवराज खतिवडाको ठाउँमा विष्णु पौडेलले बजेट ल्याएको भए, आज नेकपा पनि फुट्दैन थियो, एमाले पनि फुट्दैन थियो ।’