काठमाडौँ । मौसम पूर्वानुमान महाशाखा आगामी तीन दिन भारी वर्षा हुनसक्ने जनाएको छ ।

महाशाखाले मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भूभाग नजिक रहेकाले सो क्षेत्र वरपर बढी वर्षा हुने जनाएको हो ।

मौसमविदहरुले तीन दिनको समग्र अवस्थालाई भन्दा कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अरु स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको बताएका छन् । यद्यपि धेरै भारी वर्षाको सम्भावना भने थोरै स्थानमा रहेको बताइएको छ ।

महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
ती स्थानहरुमा बाढी पहिरोको जोखिम हुनसक्ने भन्दै जीवनयापनमा कठिनाइ हुनसक्ने बताइएको छ ।

आगामी २४ घण्टाबारे सूचनामा महाशाखाले भनेको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव छ ।

शुक्रबार दिउँसोसम्म प्रदेश, १ प्रदेश २, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको र शुक्रबार राति भने कर्णाली प्रदेशमा पनि यस्तो सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस !