शिशिर सिंखडा, चितवन । चितवनको कालिका नगरपालिका वडा नं. ८ अजिङ्गरे गाउँका विपन्न चेपाङ समुदायलाई आज खाद्यान्न सहयोग गरिएको छ । सो गाउँमा खाद्यान्न अभाव भएको थाहा पाई युट्युव पत्रकार संघले ७१ घरपरिवारलाई चामल, दाल लगायतका सामग्रीहरू सहयोग गरेको हो । कार्यक्रममा युट्युव पत्रकार संघका अध्यक्ष प्रकाशचन्द्र दाहाल, उपाध्यक्ष भोजराज थापा, सचिव मिलन सिंह लगायतका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । सोही अवसरमा चर्चित तथा लोकप्रिय गायक अलिफ खान, पत्रकार तथा चेपाङ अभियान्ता केपीकिरण शर्मा, सञ्चारकर्मी सन्तोष देउजा, पत्रकार शिशिर सिंखडा लगायतको उपस्थिति रहेको थियो ।


ऐलानी पाखो जमिन (खोरिया) मा बस्दै आएका ती चेपाङ समुदायको वर्षमा ३ देखि ६ महिनाको लागि मात्र अन्नले पुग्ने गर्दथ्यो । बाँकी समय उनीहरू ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आउँथे । कोरोना कहरका कारण लकडाउन भएपछि काममा जान नपाएकोले उनीहरूलाई बिहान बेलुकीको छाँक टार्न समस्या भएको हो । उनीहरू गिठ्ठा, भ्याकुर, टाकी, च्याउ लगायतका जङ्गली कन्दमुल खाएर जीवन धान्दै आएको सो अजिङ्गरे टोल विकास संस्थाका अध्यक्ष कुमार चेपाङले कालिका दैनिक अनलाइनलाई जानकारी दिए ।


चेपाङ समुदायमा खाद्यान्नको अनिकाल भएको समाचार यसै कालिका दैनिक अनलाइनमा प्रकाशित भएको थियो । एक बोरा चामल र दाल खाद्यान्न पाएपछि स्थानीय मैयाकुमारी चेपाङले खुशी व्यक्त गरिन् । महिना दिनदेखि गिठ्ठा, टाकी खाएका हामीले चामल पाउँदा खुसी लागेको बताउँदै अब बालबच्चालाई पेटभरी अन्न खान दिन पाउने भन्दै खुशी व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस !