सर्लाही। सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ ।

वडाध्यक्ष श्रेष्ठको शुक्रबार राति जेसिबी चालकसँग विवाद भएर जेसिबीले ठक्कर दिई हत्या भएको हो ।

राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्कबहादुर तामाङ नजिकैको होटलमा सँगै खाना खाएर बसेका थिए । त्यस क्रममा उनीहरूका बीच विवाद भएको थियो ।

विवाद गर्दागर्दै पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबीको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको पाइएको सर्लाहीका प्रहरी उपरीक्षक एसपी सन्तोषसिंह राठौरले जानकारी दिए ।

प्रहरीको प्रारम्भीक अनुसन्धानमा पूर्वयोजना नभई आवेशमा आएर घटना गराएको देखिएको एसपी राठौरले बताएका छन् ।

घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलङ्गवा पु¥याएको थियो ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !